२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

बिर्तामोड र अर्जुनधारामा चोरी गर्ने ६ जना पक्राउ



बिर्तामोड- चोरीका श्रृङ्खलावद्ध घटनामा संलग्न दुई अभियुक्तसहित नियमित चोरीका सामान किनबेच गर्ने छ जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनचाँदी व्यवसायी, किराना पसले र चिया श्रमिक छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चोरीका मुख्य योजनाकार झापा कमल गाउँपालिका २ का २२ वर्षीय सुस्मन थापा हुन् । उनीसँगै सोही ठाउँका चोरीका सामान कारोवार गर्ने कृष्ण थापा पनि समातिएका छन् ।

कमल गाउँपालिका ३ को पाथिभरा ज्वेलर्सका सञ्चालक अर्जुन विश्वकर्मा र नितेश बराइली, मेचीनगर १० का सुरशेकुमार दास र गिरीबन्धु टी स्टेटमा कार्यरत चिया श्रमिक सुनिल राजवंशी पक्राउ परेको प्रहरीले जनाएको छ ।

झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले चोरीका सामानसहित उनीहरुलाई नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरिएको बताए । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई समातेको हो ।

प्रहरीका अनुसार जेठयता झापाको बिर्तामोड र अर्जुनधारामा भएको चोरीका तीन वटा घटनामा उनीहरुको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता देखिएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार ००:००  १२ : ५८ बजे