काठमाडौँ-सरकारले दशैं अगाडि नै दुग्ध किसान र उखु किसानको रकम भुक्तानी व्यवस्था मिलाउने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसानको साढे २ अर्ब रुपैयाँ बक्यौता भुक्तानीका लागि पहल थालेको हो ।
कृषिमन्त्री रामनाथ अधिकारीले दशैंअघि दुग्ध र उखु किसानले २ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ बक्यौता भुक्तानी पाउने बताए । मन्त्रालयका अनुसार दुग्ध विकास संस्थानले किसानलाई १ अर्ब २७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
उखु उत्पादक किसानले समेत समयमा भुक्तानी पाउन सकेका छैनन् । उखु किसानलाई प्रोत्साहन अनुदानबापत सरकारले १ अर्ब ३० करोड रुपैयाँ निकासा दिन बाँकी छ । मन्त्री अधिकारीले छिट्टै उक्त रकम निकासा हुने बताएका हुन् ।
सरकारले दुग्ध विकास संस्थानलाई थप ६० करोड रुपैयाँ ऋण दिन लागेको छ । यसअघि गत चैतमा संस्थानले किसानको रकम भुक्तानी गर्ने भन्दै सरकारबाट ३० करोड लिएको थियो ।