बिर्तामोड-खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न जिल्लाबाट धान खरिद प्रक्रिया अगाडि बढाएको छ । चालु आर्थिक वर्षमा ७३ हजार ६२० मेट्रिक टन धान खरिद गर्ने लक्ष्य अनुसार लिमिटेडले प्रक्रिया सुरु गरेको हो ।
कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार धान खरिद प्रक्रिया अन्तर्गत १४ हजार ८५९ क्विन्टल धान खरिद भइसकेको छ । कम्पनीले झापाबाट ५ हजार मेट्रिक टन धान खरिद गर्ने सूचना अधिकारी न्यौपानेले बताइन् ।
गतवर्ष कम्पनीले ५० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको थियो । तर, सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा बढी मूल्य दिएर व्यापारीले किसानको धान किनेपछि कम्पनीले लक्ष्य अनुसार धान खरिद गर्न सकेन ।
गतवर्ष कम्पनीले चार हजार मेट्रिक टन मात्रै धान खरिद गरेको थियो । कम्पनीले सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गरी दुर्गम जिल्लामा खाद्यान्न वितरण गर्दै आएको छ ।


















