झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा अध्ययनका लागि बङ्गलादेश पुगेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउने प्रक्रिया सरकारले तत्काल सुरु गर्ने बताएका छन् । आइतबारदेखि नेपाली विद्यार्थीलाई फर्काउन लागिएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाली विद्यार्थीका परिवारसँग शनिबार भेट गरेका थिए । कतिपय विद्यार्थीले आफूहरू असुरक्षित रहेको जनाउँदै स्वदेश फिर्तीका लागि पहल गरिदिन माग गरिरहेका छन् ।
परिवारको माग बमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई आइतबार बिहान ढाका एयरपोर्ट हुँदै काठमाडौँ फर्काउने प्रबन्ध गरिएको प्रधानमन्त्री ओलीले फेसबुकमा उल्लेख गरेका छन् ।
बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजको माग गर्दै आन्दोलन चर्किरहेको छ । एक सातादेखि जारी आन्दोलनको बदलिँदो प्रभावका कारण नेपाली विद्यार्थी पनि प्रभावित भइरहेका छन् ।
कतिपय विद्यार्थीले प्रधानमन्त्री ओलीलाई चिठी लेखेरै सुरक्षित रूपमा नेपाल फर्कने वातावरण मिलाइदिन आग्रह गरेका छन् । जारी आन्दोलनका कारण विद्यार्थी अप्ठ्यारोमा परेको, इन्टरनेट र फोन काटिएका कारण अभिभावकसँग सम्पर्क हुन नसकेको परिस्थिति सृजना भएको छ ।
प्रधानमन्त्री ओलीका अनुसार नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले नेपालस्थित परिवारबाटै अनलाइन फारम भर्न सकिने सूचना जारी गरेको छ ।
















