१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

लागूऔषध दुर्व्यसनविरुद्ध नारी सञ्चार गृहको सचेतना



पृथ्वीनगर- झापाको भद्रपुरमा लागूऔषध दुर्व्यसन तथा ओसारपसारमा हाम्रो भूमिका विषयक दुई दिने कार्यक्रम बिहिबारदेखि शुरु भएको छ । भद्रपुर नगरपालिकाको सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा कार्यक्रम सुरु भएको हो ।

भद्रपुर नगरपालिका वडा–२ र भद्रपुर नगरपालिकामा आयोजित दुईदिने कार्यशाला गोष्ठीको कार्यक्रमका प्रमुख अतिथि तथा भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले उद्घाटन गरेका छन् । गोष्ठीको उद्घाटन गर्दै निरौलाले लागूऔषध दुर्व्यसन र ओसारपसारको अवस्था भयानक बन्दै गएको बताए ।

वडाध्यक्ष रामबहादुर कँडेलले लागूऔषध दुर्व्यसन र ओसारपसार समस्याका रुपमा देखा परेको बताउँदै नियन्त्रणका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । वडा नम्वर १ का वडाध्यक्ष रामप्रसाद अधिकारीले मुख्य समस्यालाई पहिचान गरेर कार्यक्रम आयोजना गरेको भन्दै खुशी व्यक्त गरे ।

इलाका प्रहरी कार्यालय हल्दिबारीका इन्चार्ज प्रहरी सहायक निरीक्षक ओमराज पौडेल लागूऔषध प्रयोगको जिल्लाको तुलनात्मक तथ्याङ्कीय अवस्था, कानूनी व्यवस्था, लागूऔषध प्रयोगमा बालबालिका, महिला, युवा तथा वयस्कको अवस्था लगायतका विषयमा सहजीकरण गरेका छन् ।

प्रयोगकर्तालाई सुधार गर्नका लागि घर परिवार र समाजले गर्ने व्यवहार, पुर्नस्थापना केन्द्रको आवश्यकता र महत्व लगायतका विषयमा पुर्नजन्म समूह नेपालका राजु गिरीले सहजीकरण गरेका थिए ।

नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल लगायतले समस्याका रुपमा देखिएको लागू औषध दुर्व्यर्सन तथा ओसारपसार नियन्त्रणमा समाजको भूमिका लगायतका विषयमा सहजीकरण गरेको बिनिशा शर्माले बताइन् ।

नारी सञ्चार गृहकी झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा स्वागत तथा औचित्य माथि भीमा शिवाकोटीले प्रकाश पारेकी थिइन् भने कार्यक्रम संयोजक जोस्ना श्रेष्ठले सञ्चालन गरेको सञ्जु शिवाकोटीले जानकारी दिइन् ।

पूर्व अध्यक्ष अम्बिका भण्डारीसहितको उपस्थिति रहेको कार्यक्रमको सगरमाथा माविका प्रधानाध्यापक डम्बर खनाल, हिमाली टोल विकास संस्था भद्रपुर–१ की अध्यक्ष निलिमा खनाल,चन्द्र सूर्य टोल विकास संस्थाका सचिव देवराज श्रेष्ठ लगायतले कार्यशाला गोष्ठी उपलब्धिमूलक रहेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार ००:००  ९ : १६ बजे