बिर्तामोड– मेयर महिला भएका कारण सघन सहरी विकास मन्त्रालयले बिर्तामोड नगरपालिकालाई १३ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ ।
सघन सहरी विकास कार्यक्रमलाई विस्तार गर्दै स्थानीय आवश्यकताका आधारमा पूर्वाधार निर्माण गर्ने गरी मन्त्रालयले बिर्तामोड नगरपालिकालाई यो रकम उपलब्ध गराएको हो ।
देशभरका ५१ नगरपालिकामा सघन सहरी विकास कार्यक्रम विस्तार गरिएको छ । जसअन्तर्गत बिर्तामोडले पनि सडक पूर्वाधार निर्माणका लागि यो बजेट प्राप्त गरेको हो ।
मन्त्रालयबाट प्राप्त बजेटका आधारमा बिर्तामोड नगरपालिकाले छवटा सडक स्तराेन्नति गरिरहेको छ भने एउटा सामुदायिक भवन निर्माण भइरहेको छ ।
वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग र वडा नम्बर २ को बानालाल मार्गमा प्लम निर्माण गरिएको छ । ती दुईवटा सडकमा बिजुलीका पोल व्यवस्थापन गर्ने काम भइरहेको छ ।
आगामी सातादेखि वडा नम्बर १ को अतिथि सदन रोडमा काम सुरु हुने नगरपालिकाले जनाएको छ । वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली हुँदै विराटपाेखर विद्यालय जाने सडकमा प्राइम लगाउने काम सकिएको छ ।
वडा नम्बर-८ काे गरामनी कट्टरडाँगी हुँदै हल्दीबारी जोड्ने सडकमा प्राइम लगाउने काम सकिएको निर्माण व्यवसायी नयन बरालले बताए । आइतबारदेखि कालोपत्रेको काम सुरु हुन लागेको छ ।
पूर्वपश्चिम राजमार्गबाट दक्षिण बुट्टाबारी एभरेस्ट स्कुल हुँदै हरियो आश्रमदेखि नियामारी वृद्धाबजार जोड्ने सडकको १ हजार २४० मिटर सडक निर्माण कार्य भइरहेको छ ।
वडा नम्बर-६ को हरियाली सामुदायिक वनमा एउटा भवन निर्माणधीन अवस्थामा छ । सामुदायिक भवनको ९० प्रतिशत काम सम्पन्न भएको निर्माण व्यवसायी बरालले बताए ।
गत भदौ २० गते नगर प्रमुख पवित्रा महतारा प्रसाईले एकै पटक सबै विकास योजनाको शिलान्यास गर्नुभएको थियो । सातवटै योजना एकीकृत रूपमा शान्ति उद्देश्य निर्माण सेवाले ठेक्का लिएको छ ।
मूल्य अभिवृद्धि कर बाहेक ६ करोड ३१ लाख रुपैयाँमा आगामी वैशाखभित्र ती सबै योजनाको निर्माण पूरा हुने निर्माण व्यवसायी बरालले जानकारी दिए ।
निर्माणाधीन योजनाको नगर प्रमुख प्रसाईले नियमित रुपमा अनुगमन गर्दै आउनु भएको छ । हर्कलाल मार्ग, गोकुल जोशी मार्ग लगायतका विभिन्न नगरस्तरीय योजना पनि अघि बढेका छन् ।