१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

नेपालको पीडादायी विगतलाई शान्तिमा बदल्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता




काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पीडादायी विगतलाई शान्तिमा बदल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार सत्य निरूपण तथा मेलमिलाप (टीआरसी) विधेयकको विवादका विषयमा शीर्ष राजनीतिक दलबीच सहमति जुटेपछि प्रधानमन्त्री ओलीले नेपाललाई शान्त बनाउन सबैलाई सहयोग गर्न आह्वान गरेका हुन् ।

‘पीडादायी विगतलाई हामी शान्तिमा बदल्ने छौँ, नेपाललाई शान्त बनाउन सबै पक्षको साथ र सहकार्य जरुरी छ, सहकार्यका साथ हामी अघि बढ्ने छौँ’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

हिंसात्मक द्वन्द्वलाई अन्त्य गरी बृहत् शान्ति सम्झौता भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा मुख्य दलहरू बीच सहमति जुटेको उल्लेख गर्दै ओलीले अब यसलाई चाँडै अन्तिम टुङ्गोमा पुर्‍याउने बताए ।

‘हिंसात्मक द्वन्द्वलाई अन्त्य गरी बृहत् शान्ति सम्झौता भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा आज मुख्य दलहरूबीच सहमति भएको छ, संसद्को यसै अधिवेशनबाट विधेयक पारित भएपछि त्यस अनुरूपका आयोग बन्नेछन्’, ओलीले लेखेका छन् ।

बुधबार सत्य निरूपण तथा मेलमिलाप (टीआरसी) विधेयकको विवादका विषयमा सहमति जुटाउन बनेको कार्यदलले शीर्ष नेताहरूलाई सहमतिको प्रतिवेदन बुझाएको छ ।

कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कार्यदलले प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

प्रतिनिधि सभामा दर्ता भई सभाको कानून, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन रहेका ती विधेयकका मुख्य सवालमा सहजीकरण र छलफल गरी निकालिएको निचोडको प्रतिवेदन बुझाइएको हो ।

कार्यदलमा नेपाली कांग्रेसबाट गृह मन्त्रीसमेत रहेका रमेश लेखक, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा रहेका थिए ।

प्रस्तावित विधेयकमा मानव अधिकारको गम्भीर उलङ्घन, मेलमिलापको विषय, सशस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएकाहरूको क्षतिपूर्ति, सजायका विषयमा सहमति निकालिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार ००:००  ३ : ४४ बजे