काँकडभिट्टा-भारतबाट नेपाल आउँदै गरेका मकवानपुरका एक युवक लागूऔषध ब्राउन सुगरसहित काँकडभिट्टा नाकाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका-६ का ३१ वर्षीय आशाकाजी तामाङ छन् ।
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले शुक्रबार दिउँसो मेची पुलबाट उनलाई पक्राउ गरेको हो । तामाङको साथमा १८ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले तामाङलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको बताए । सिटी रिक्सामा आउँदै गरेका तामाङलाई शङ्का लागेर प्रहरीले खानतलासी लिएको थियो ।


















