२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

पैसा झिक्न किर्ते हस्ताक्षर : अदुवा खोला सिंचाई आयोजनाको रकम हिनामिना



झापा–उपभोक्ता समितिका अधिकांश सदस्यको नक्कली हस्ताक्षर गरेर अध्यक्षसहितका तीनजना पदाधिकारीले अदुवा खोला सिंचाई आयोजनाको १७ लाख भन्दाबढी रकम हिनामिना गरेको खुलेको छ । समितिका अरु पदाधिकारी तथा सदस्यको किर्ते हस्ताक्षर गरेर उनीहरुले आयोजनाको खाताबाट रकम झिकेको पुष्टि भएको हो ।

आयोजनाका अध्यक्ष दिनेश भनिने बृखबहादुर थापा, सचिव प्रकाश पाठक र कोषाध्यक्ष लोकनाथ ओलीले आयोजनाको खाताबाट १७ लाख भन्दाबढी रकम झिकेर चलाएका छन् । तीनजना पदाधिकारीको मिलेमतोमा राष्ट्रिय वाणिज्य बैकको भद्रपुर शाखाबाट २०८० बैशाख १२ गते रकम झिकिएको खुलेको आयोजनाका पूर्व अध्यक्ष रत्नबहादुर अधिकारीले बताए ।

आयोजनाको धरौटी खाताबाट चल्ती खातामा रकम सारेर उनीहरुले व्यक्तिगत नाममा चेक काटेका थिए । धरौटी खाताको रकम चल्ती खातामा सार्नुपूर्व बैकमा आयोजनाका पदाधिकारी तथा सदस्यको हस्ताक्षरसहितको माइन्यूट बुझाइएको थियो । पूर्व अध्यक्ष अधिकारीका अनुसार माइन्यूटमा तीन जनाबाहेक पदाधिकारी तथा सदस्यको हस्ताक्षर किर्ते गरिएको छ ।

आयोजनाको खाताबाट निकालिएको रकममध्ये अध्यक्ष थापाले १० लाख ५४ हजार, सचिव पाठकले पाँचलाख र कोषाध्यक्ष ओलीले दुईलाख रुपैयाँ चलाएका थिए । तीनै जनाले आयोजनाको खाताबाट पैसा निकालिएको स्वीकार गरेका छन् । अध्यक्ष थापाले तीनै जना मिलेर पैसा चलाएको स्वीकार गर्दै हस्ताक्षरका विषयमा थाहा नभएको बताए ।

‘सचिवले हस्ताक्षर गराउने हो । निर्णय पुस्तिकामा सचिवले हस्ताक्षर गराउनु भएको हो । के–के गर्नु भएको छ । उहाँ नै जवाफदेही बन्नुपर्छ । किर्ते हो वा सक्कली हो मलाई थाहा छैन’, अध्यक्ष थापाले भने । सचिव पाठक पनि हस्ताक्षरका विषयमा आफूलाई थाहा नभएको र यसमा अध्यक्ष जवाफदेही हुने बताउँछन् ।

पाठकले आफ्नो नाममा पाँच लाख रुपैयाँको चेक काटिएको भए पनि पैसा अध्यक्ष थापाले चलाएको दावी गरे । उनले भने, ‘मेरो नाममा चलेको देखिन्छ, तर मैले खर्च गरेको होइन । त्यो पैसा अध्यक्षज्यूले नै चलाउनु भएको हो । संस्थाको पैसा व्यक्तिगत प्रयोजनमा जानु बेठीक हो । प्राविधिक हिसावले मैले चलाएको देखिन्छ ।’

तर, अध्यक्ष थापा भने पैसा सचिव स्वयम्ले भाईलाई विदेश पठाउने प्रयोजनमा चलाएको बताउँछन् । कोषाध्यक्ष ओलीका अनुसार अध्यक्षले पनि आफ्नो भाईलाई विदेश पठाउनका लागि आयोजनाको पैसा चलाएका हुन् । उनले आफूले हस्ताक्षर गरेको भन्दा धेरै पैसा निकालिएको भन्दै त्यसबारे अनविज्ञता प्रकट गरेका छन् ।

झापाको बाह्रदशी र हल्दिवारीको करिव ६७५ हेक्टर क्षेत्रफलमा सिंचाई गर्ने आयोजनामा ६ सय भन्दाबढी उपभोक्ता छन् । ती उपभोक्ताको आँखामा छारो हालेर आयोजनाका तीन पदाधिकारीले अख्तियारको दुरुपयोग गर्दै रकम मनोमानी गरेको उपाध्यक्ष रोमनाथ दाहालले बताए ।

उपाध्यक्ष दाहालले भने, ‘मैले हस्ताक्षर गरेको छैन । पैसा निकालेको विषय ढिलो मात्र थाहा भयो । किर्ते गर्नेलाई कार्वाही हुनुपर्छ ।’ अध्यक्षसहित तीन जनाले रकम अपचलन गरेको विषय सार्वजनिक भएपछि तत्काल साधारणसभाबाट उक्त विषयलाई सामसुम बनाउने प्रयास भएको थियो ।

कात्तिक २८ गते सामाजिक सञ्जालबाट साधारणसभा गर्ने भन्दै खवर गरिएको थियो । अध्यक्ष थापा साधारणसभा बोलाएर १९ गते पारिवारिक समस्याका कारण देशबाहिर गएपछि अन्योल सिर्जना भयो । देशबाहिर रहेका संस्थाका अध्यक्ष थापा भर्खरै नेपाल फर्किएका छन् ।

थापाले आयोजनाकोे रकम चलाएको स्वीकार गरेका छन् । ‘संस्थाको रकम मैले मात्र चलाएको छैन । सचिव र कोषाध्यक्षले समेत चलाएका छन्’, अध्यक्ष थापाले भने । गाउँपालिकाले दिएको नौ लाख ३७ हजार, निर्माण व्यवसायीले विभिन्न आयोजना निर्माणमा लागतको २ प्रतिशतबाट दिएको थप ९ लाखसहित संस्थामा १८ लाखभन्दा धेरै रकम मौज्दात थियो ।

२७ वर्ष संस्थाको नेतृत्व गरेका पूर्व अध्यक्ष अधिकारीले कामको सिलसिलामा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय जाँदा रकम निकालेर चलाइसकेको सूचना पाएका थिए । १३ जनाको कार्य समितिमध्ये तीन जनाले हस्ताक्षर गरेको नदेखिएको पूर्व अध्यक्ष अधिकारीले बताए । ‘एकजना कोपिला पौडेल नाम गरेको सदस्यको हस्ताक्षर अंग्रेजीबाट थियो । उहाँ कहिल्यै अंग्रेजीबाट हस्ताक्षर गर्नुहुन्न’, उनले भने ।

सहसचिव सीतादेवी अधिकारी, सदस्यहरु रेनुका भेटवाल, देवराज ताजपुरिया, इन्द्रकला दाहाल, मानबहादुर थापा बालमाया कार्कीको हस्ताक्षर किर्ते गरिएको भेटिएको पूर्व अध्यक्ष अधिकारीले जानकारी दिए । संस्थाका पूर्व सचिव रविन कार्की पैसा चलाउने नियतले धरौटी खाताबाट चल्ती खातामा रकम सारिएको दावी गर्छन् । ‘चल्तीमा सार्नु नै पैसा चलाउने नियत हो’, कार्कीले भने, ‘बैंकमा पुग्नेहरुले नै निर्णय पुस्तिकामा किर्ते हस्ताक्षर गरेको हुनुपर्छ ।’

……

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार ००:००  ५ : १६ बजे