८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

भारतीय साहित्यिक संस्थालाई संस्थागत अभिनन्दन गर्ने साहित्य चौतारीको निर्णय



बिर्तामोड- साहित्य चौतारी झापा नेपालले भदौ २९ गते भारतका बिभिन्न प्रान्तमा रहेका साहित्यिक संघ संस्थालाई संस्थागत अभिनन्दन तथा सम्मान गर्ने भएको छ । साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

संस्थाले पहिलोपटक भारतका बिभिन्न प्रान्तमा रहेर नेपाली भाषा, साहित्य, कला, संस्कृतिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका साहित्यिक संघ संस्थालाई संस्थागत अभिनन्दन तथा सम्मान गर्न लागेको हो ।

संस्थापक संरक्षक तथा अध्यक्ष श्रेष्ठले पहिलो पटक भारतका बिभिन्न प्रान्तमा रहेका साहित्यिक संघ संस्थालाई संस्थागत अभिनन्दन तथा सम्मान प्रदान गर्न लागिएको बताए । यसअघि रजत वर्ष महाअभियानको अवसरमा साहित्य चौतारीले नेपाल र भारतका विभिन्न श्रष्टालाई रथारोहण, अभिनन्दन, सम्मान गरेको थियो ।

साहित्य चौतारीले संस्थागत अभिनन्दन तथा सम्मान गर्नका लागि मापदण्ड तय गर्दै अध्ययन समिति गठन गरेको उनले बताए । सल्लाहकार राजेन्द्र संग्रौलाको संयोजकत्वमा सल्लाहकारहरु अनिरुद्र ओली, हरिनारायण भट्टराई, हस्त परियार, कृष्ण पौडेल, शिरो सान्दाइ र भवानी क्षेत्री रहेको अध्ययन समिति गठन गरिएको छ ।

समितिले ज्येष्ठता, वैधानिकता, निरन्तरता, प्रमुख लक्ष्य, समावेशी लगायतका मापदण्ड तय गरी संस्थागत सम्मानका लागि संस्थाको छनौट गर्नेछ । स्थापनाको २० वर्षभन्दा वढी क्रियाशील रहेका साहित्यिक संघसंस्थालाई नगद अक्षय कोषद्वारा संस्थागत अभिनन्दन गरिने तथा १० वर्षभन्दा वढी क्रियाशिल रहेका साहित्यिक संघ संस्थाहरुलाई सम्मान गरिने उनले बताए ।

अक्षयकोष विधिपूर्वक सञ्चालनका लागि संस्थाका अन्तर्राष्ट्रिय प्रतिनिधि र संस्थाका प्रतिनिधि बीचको संयुक्त माइन्युट र खाता सञ्चालन गरिने र जुन देश र स्थानमा कार्यक्रम गरिन्छ त्यो देशका प्रचलित नियम र कानूनअनुसार हुने उनले बताए ।

आगामी भदौ २९ गते बिर्तामोडमा साहित्य चौतारीको सभाहलमा हुने कार्यक्रममा भारत दार्जीलिङका गोर्खा दुःख निवारक सम्मेलन, नेपाली साहित्यिक सम्मेलन, हिमालय कला मन्दिर, खर्साङका गोर्खा जनक पुस्तकालय, जागृति परिवार, गोर्खा संस्कृतिक संस्थान, शिलगढीका शिलगढी देवकोटा संघ, शिलगढी भानुभक्त समितिको सहभागिता रहनेछ ।

आश्रम पाडा नेपाली शिव मन्दिर समिति, नेपाली साहित्य प्रचार समिति, मतिगडा गोर्खा कल्याण संघ, गान्तोकको सिक्किम साहित्य परिषद्, गेजिङको पश्चिम सिक्किम साहित्य प्रकाशन, कालेङपुङको नेपाली साहित्य अध्ययन समिति, आसामको आसाम नेपाली साहित्य सभा, मणिपुरको मणिपुर नेपाली साहित्य परिषद् पनि कार्यक्रममा सहभागी हुनेछन् ।

डुबर्सको डुबर्स नेपाली साहित्य परिषद, सिलङको सिलोङ नेपाली साहित्य परिषद्, सलुवाको अगमसिंह गिरी संस्थान, मिरिकको चिमल क्लव परिवार, मिरिक साहित्य सुनौ परिवारको पनि सहभागिता रहने जनाइएको छ ।

ती संस्थामध्येलाई मापदण्डको आधारमा संस्थागत अभिनन्दन तथा सम्मान गरिने उनले बताए ।आगामी भदौ २९ गते हुने कार्यक्रमको संयोजकमा संस्थाका उपाध्यक्ष हिम्मत नेम्वाङ रहने र संस्थागत अभिनन्दन तथा सम्मान कार्यक्रमको प्रमुख अतिथिमा असम नेपाली साहित्य सभाका वर्तमान सभापति दुर्गा खतिवडा रहने उनले बताए ।

आगामी भदौ २९ गते हुने संस्थागत अभिनन्दन तथा सम्मान कार्यक्रममा भारतका विभिन्न प्रान्तसहित भुटान र बर्माका साहित्यिक संघसंस्थाहरुको संस्थागत सहभागिता रहने संस्थाका भारतवर्षका संयोजक डीएल (देवीलाल) प्रधानले आफूलाई जानकारी गराएको अध्यक्ष श्रेष्ठले बताए ।

संस्थाले आगामी भदौ २९ गते राष्ट्रिय बाल दिवस तथा मोति जयन्तीको अवसर पारेर एक घण्टा अर्थात बिहान १० बजेदेखि ११ बजेसम्म बालप्रस्तुति राखिने र बालदिवस केन्द्रित कार्यक्रमको प्रमुख अतिथिको रुपमा गत सालको बाल प्रतिभा पुरस्कारको बिजेता अर्पण सिटौला रहने उनले बताए ।

मोति जयन्तीको अवसर पारेर मोतिराम भट्टबारे प्रस्तुति, गायक तथा संस्थाका २०६१ सालका प्रमुख अतिथि समेत रहेका फत्तेमान राजभण्डारीको स्मृतिमा बाल कलाकारद्वारा उनका गीत प्रस्तुत गरी उनीप्रति श्रद्धाञ्जलिसमेत अर्पण गरिने कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले बताए ।

साहित्य चौतारी झापाले नेपाल तथा अन्तर्राष्ट्रियस्तरमा आफ्ना गतिविधिहरु सञ्चालन गर्नका लागि सल्लाहकार समिति समेत गठन गरेको छ । यसअघि काठमाडौं सल्लाहकार संयोजकमा राधेश्याम लेकालीलाई चयन गरिसकेको संस्थाले भारतका लागि संस्थाका मानार्थ सल्लाहकार वरिष्ठ गायक तथा संगीतकार जीवन अधिकारी, डिएल प्रधान, युरोपका लागि कवि, मुक्तककार, हाइकुकार बिमल गिरी र अमेरिकाका लागि संस्थापक सल्लाहकार मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासीलाई सल्लाहकार संयोजकमा चयन गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

बैठकले संस्थाका संस्थापक, संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठलाई अन्तर्राष्ट्रिय पत्रकार संघले अभिनन्दनसहित सम्मान गरेकोमा बधाई दिनुका साथै संस्थाका सहसचिव जीवन जगदिश धितालले दोस्रो गीत बजारमा ल्याएकोमा उनलाई समेत बधाई ज्ञापन गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार ००:००  १० : ४८ बजे