बिर्तामोड-साहित्य चौतारीका संस्थापक संरक्षक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठलाई राजधानीमा सम्मान गरिने भएको छ । भाषा कला साहित्य र संगीतको संरक्षण र विकासमा महत्वपूर्ण योगदान गरेको जनाउँदै सर्जकका रूपमा संस्थापक संरक्षक श्रेष्ठलाई सम्मान गर्न लागिएको हो ।
साहित्यिक पत्रकार सङ्घले मंगलवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अभिनन्दन सम्मान एवम् पुरस्कार समर्पण समारोह आयोजना गरेको छ । उक्त कार्यक्रममा साहित्य चौतारीका अध्यक्ष श्रेष्ठ पुरस्कृत हुन लागेका हुन् ।
झापाको बिर्तामोडमा साहित्य चौतारी स्थापना गरेर तीनै पुस्ताका स्रष्टा सर्जकलाई एउटै थलोमार्फत भाषा, कला साहित्य र संगीतको क्षेत्रमा निरन्तर अघि बढ्न श्रेष्ठले प्रेरित गर्दै आएका छन् । साहित्य चौतारीको मञ्चबाट उदाएका कयौँ कवि कलाकार अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाइरहेका छन् ।


















