११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

बिर्तामोड प्रहरीको लापरवाहीका कारण हत्कडी खोलेर भागे लागूऔषध मुद्दाका अभियुक्त



बिर्तामोड-प्रहरीको लापरवाहीका कारण अस्पतालमा उपचाररत एकजना थुनुवा फरार भएका छन् । लागूऔषध मुद्दाका अभियुक्त भुटानी शरणार्थी विशाल राई हत्कडी खोलेर मङ्गलबार अपरान्ह फरार भएका हुन् ।

झापाको दमक स्थित बेलडाँगी शरणार्थी शिविरका राई भदौ २ गते बिर्तामोडको पश्चिम बस स्ट्यान्ड नजिकबाट लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका थिए । पेट दुखेको बताएपछि उनलाई बिर्ता सिटी अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालबाटै हत्कडी खोलेर अभियुक्त राई भागेको प्रहरीले जनाएको छ । राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए । प्रहरीको कमजोरीका कारण हत्कडी खोलेर राई भागेको जनाइएको छ ।

घटनापछि डीएसपी प्रकाश बिष्टको कमाण्डमा परिचालित प्रहरी टोलीले राईको खोजी गरिरहेको छ । बिर्तामोड प्रहरीको हिरासतमा रहेका राईलाई पाँच दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार ००:००  ९ : ३८ बजे