झापा–झापाका विभिन्न संघसंस्थाले विपद् ब्यवस्थापनका लागि एकजुट हुने प्रतिवद्धता जनाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले शुक्रवार आयोजना गरेको बिपद् व्यवस्थापनका लागि संघ संस्थाको भूमिका विषयक कार्यक्रममा सहभागी संस्थाका प्रमुख तथा प्रतिनिधिले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले विपद् व्यवस्थापनमा सबैको भूमिका सकारात्मक हुनुपर्ने बताए । विपद्को समयमा राहत र उद्धारमा सरकारी संयन्त्रको मात्रै भर पर्नु नहुनेमा अध्यक्ष ढकालको जोड छ ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीले विपद्को समयमा सबै मिलेर अघि बढ्नु पर्ने बताए ।
उनले विपद्को पूर्व तयारीका लागि राहत कोष स्थापना गर्न सुझाव दिएका छन् । उनले पाँच करोड रुपैयाँको विपद् व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्न प्रस्ताव पनि गरेका छन् ।
सबै झापाली मिलेर एकसय रुपैयाँ ‘क्यूआर’ मार्फत जम्मा गर्ने हो भने पाँच करोड रुपैयाँको विपद् व्यवस्थापन गर्न अक्षयकोष स्थापना गर्न सकिने गिरीको धारणा छ ।
‘एकका लागि एक अभियान’ मार्फत जम्मा भएको रकममध्ये ८० लाख रुपैयाँ रहेको र त्यसको ब्याज सहित झण्डै एक करोड रुपैयाँ खातामा मौज्दात रहेको जानकारी दिए ।
मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले विपद्बारे अध्ययन र योजना बनाउन नसक्दा बाढीजन्य विपद्का कारण बर्षेनि झापाबासीले सास्ती ब्यहोर्दै आएको र त्यसलाई न्यूनीकरणका लागि योजना बनाएर अघि बढ्नु पर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले विपद् ब्यवस्थापनका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको र विपद् व्यवस्थापनका लागि छुट्टै गुल्म समेत रहेको बताएका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले बिपद् व्यवस्थापनका लागि पूर्ब तयारीको काम भइरहेको र सबै क्षेत्रबाट सहयोगको खाँचो रहेको बताए ।
कार्यक्रममा चेम्वर अफ कमर्सका अध्यक्ष ओमकृष्ण विमली, वीरता लेडी जेसीजकी अध्यक्ष मीनु ओली लगायतले धारणा राखेका थिए ।
जिल्लाका तीन दर्जन बढी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो । बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष विशाल थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।