झापा– झापाको कनकाई नगरपालिकामा गाई काटेर मारेको अभियोगमा प्रहरीले दुई महिलासहित चारजनालाई पक्राउ गरेको छ । भारततर्फ भाग्दै गरेको अवस्थामा भद्रपुरस्थित मेची पुलबाट तीनजना समातिएका हुन् ।
यसअघि गाई काटिएकै दिन मङ्गलबार एक जनालाई प्रहरीले पक्राउ गरेको थियो । कन्काई नगरपालिका ३ का लीलाप्रसाद सिलवालको गोठमा बाँधेको गाई चोरेर काटेको अभियोगमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका-४ घर भएका बुधन आलम, कुरेसा खातुन, दिलबर हुसेन र महिदा खातुन रहेका छन् । बुधन मङ्गलबार पक्राउ परेका हुन् । अरु तीनजनालाई भारततर्फ भाग्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले पक्राउ परेका चारैजना विरुद्ध झापा जिल्ला अदालतबाट पशुपंक्षीसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको बताए ।
गौ हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै स्थानीयवासी र धार्मिक संघसंस्थाका अगुवाहरु आन्दोलनमा उत्रिने लगत्तै प्रहरीले घटनामा संलग्न भएको अभियोगमा उनीहरुलाई समातेको हो ।
आक्रोशित स्थानीयले मङ्गलबार साँझ पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै दोषीलाई अविलम्ब पक्राउ गर्न माग गर्दै नाराबाजी गरेका थिए ।