भद्रपुर-सरकारले भद्रपुर भन्सारका मुआब्जा पीडितलाई थप ३० करोड रुपैयाँ वितरण गर्ने भएको छ । एक दुई दिनभित्रै मुआब्जा पीडितलाई मुआब्जा रकम उपलब्ध गराउन लागिएको हो ।
भन्सार कार्यालयका लेखा अधिकृत सञ्जय दाहालले सरकारले पठाएको मुआब्जा रकम तत्काल वितरण गर्न लागिएको बताए । भन्सारले आवश्यक प्रक्रिया पूरा भएका जग्गाधनीलाई बैंकमार्फत सोझै मुआब्जा रकम पठाउनेछ ।
अघिल्लो वर्ष सरकारले भद्रपुर भन्सारका मुआब्जापीडित ३७ जना जग्गाधनीलाई १० करोड रुपैयाँ वितरण गरेको थियो । त्यसको एक वर्षपछि जेठ दोस्रोसाता सरकारले थप ३० करोड रुपैयाँ पठाएको लेखा अधिकृत दाहालले जानकारी दिए ।
छोटी भन्सार स्तराेन्नति गरी सरकारले भद्रपुर भन्सारलाई मूल भन्सारमा परिणत गरेको थियो । भन्सार कार्यालय विस्तारको योजना स्वरूप आसपासको जग्गा अधिग्रहण गरिए पनि जग्गाधनीले अझै मुआब्जा पाउन बाँकी छ ।
लेखा अधिकृत दाहालका अनुसार सरकारले अझै २० करोड १४ लाख रुपैयाँ पठाएपछि मात्रै मुआब्जा रकम वितरण पूरा हुन्छ । भन्सारका लागि नौ बिघा जग्गा अधिग्रहण गर्दा मुआब्जा बापत ६० करोड १३ लाख ८२ हजार रुपैयाँ वितरण गर्नुपर्ने सरकारी मूल्याङ्कन छ ।