झापा-सत्ता बहिर्गमनपछि शक्ति सञ्चयको अभ्यासमा लागेको नेकपा माओवादी केन्द्रले सडक आन्दोलनका लागि पूर्व तयारी अवस्थामा रहन मातहतका पार्टी कमिटीलाई सर्कुलर जारी गरेको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ सत्ता समीकरण बनेपछि प्रतिपक्षमा पुगेको माओवादीले जुनसुकै बेला सडक आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने जनाउँदै त्यसका लागि तयारी रहन पार्टी कमिटीलाई सर्कुलर गरेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले आइतबार मातहतका पार्टी कमिटीलाई स्थायी समिति बैठकमा उठेका विषयमा बुँदागत रुपमा उल्लेख गर्दै सर्कुलर पठाएका हुन् ।
सर्कुलरमा भनिएको छ, ‘सदनमा खबरदारीका बावजुद पनि प्रतिगमन, राष्ट्रघात र भ्रष्टाचारको संरक्षण गर्ने दिशामा सरकार झन्झन् अगाडि बढेमा कुनै पनि समयमा सडक आन्दोलनमा जानुपर्ने आवश्यकतालाई ध्यानमा राख्नुपर्ने देखिन्छ ।’