सप्तरी-व्यावसायिक रूपमा केरा खेतीमा लागेका किसान निराश भएका छन् । बाढीका कारण केरा खेती नष्ट भएपछि किसानको निराशा चुलिएको हो ।
असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीका विभिन्न ठाउँमा किसानको केरा खेती नष्ट भएको छ । सप्तरीको भारदहमा मात्रै ५०० बिघामा लगाइएको केरा खेती नष्ट भएको किसानले जनाएका छन् ।
केरा खेती गर्दै आएका किसान शोभानन्द यादव सरकारले राहत तथा क्षतिपूर्ति नदिने हो भने व्यवसायिक रुपमा केरा खेतीमा लागेका सबै किसान पलायन हुने बताउँछन् ।
बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसायिक रुपमा लगानी गरेका किसान यतिबेला झन् धेरै समस्यामा छन् । लगानी उठाउन मात्रै होइन, बैंकको ब्याज तिर्न समेत किसानलाई समस्या परेको छ ।
हनुमाननगर कंकालिनी २ का दिनेशकुमार राउत १०५ जना किसानले जग्गा भाडामा लिएर गर्दै आएको केरा खेती सबै नष्ट भएको बताउँछन् । राउत आफैंले कोशी नदीको किनारमा १० बिघामा केरा खेती गरेका थिए ।
केरा बिक्री गरेर पर्याप्त आम्दानी गर्ने सोच बनाएका राउतको सपना बाढीले क्षतविक्षेत बनाइदिएको छ । दशैंको मुखमा बेहोर्नु परेको क्षति भनी साध्य छैन ।
भारदह-१ भलुवाका रामदेव मण्डल ५० कठ्ठा जग्गामा लगाएको केरा खेती नष्ट भएको बताउँछन् । साहुबाट ऋण लिएर व्यवसायिक केरा खेती गरेका उनी अब कसरी ऋण तिर्ने भन्ने चिन्तामा छन् ।


















