२१ कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025

प्रगतिशील लेखनका सिद्धहस्त प्रतिभा साहित्यकार सरोज ओलीको निधन



झापा-साहित्यकार सरोज ओलीको ८३ वर्षको उमेरमा शुक्रबार अपरान्ह निधन भएको छ । झापाको अर्जुनधारा-८ स्थित निजी निवासमा साहित्यकार ओलीको देहावसान भएको हो ।

झापाले बहुप्रतिभाशाली, बहुआयामिक व्यक्तित्वका धनी, प्रगतिशील लेखनका सिद्धस्त प्रतिभा साहित्यकार ओलीलाई गुमाएको छ । साहित्य साधनामा निरन्तर सक्रिय रहँदै आएका ओली केही समयदेखि अस्वस्थ थिए ।

तीनदशक भन्दाबढी समय शिक्षण सेवामा बिताएका ओलीका १६ वटा कृति प्रकाशित छन् । २०५३ र २०७२ मा दुईपटक राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गरेका साहित्यकार ओलीलाई तीन वर्षअघि अर्जुनधारा नगरपालिकाले ५१ हजार नगदसहित दीर्घ साहित्य सेवा पुरस्कार प्रदान गरेको थियो ।

ओली वंश समन्वय समिति नेपालका संरक्षक समेत रहेका साहित्यकार ओलीलाई साहित्य चौतारीले पनि दीर्घ साधना सम्मान प्रदान गरेको थियो । उनी साहित्य चौतारीका संस्थापक सल्लाहकार मध्येका एक थिए ।

शनिश्चरे बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष समेत रहेका ओलीले क्याम्पसमा तीन कार्यकाल सेवा प्रदान गरेका थिए । मधुमेह र उच्च रक्तचापबाट पीडित रहँदै आएका ओलीलाई पछिल्लो पटक निमोनिया भएको थियो ‌। निमोनियाकै संक्रमणका कारण उनको निधन भएको हो ।

तेह्रथुमको आठराईस्थित हाेडामा १९९८ सालमा जन्मिएका साहित्यकार ओलीका दुई छोरा निरज, शार्दुल र एक छोरी छन् । निरज कृषिथोक बजार व्यवस्थापन समितिका अध्यक्ष हुन् भने शार्दुल सहकारी र जेसीज अभियानमा सक्रिय छन् । साहित्यकार ओलीको शनिबार ११ बजे कन्काई माईमा दाहसंस्कार गर्ने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ ।

साहित्यकार ओलीको निधनप्रति स्रष्टा सर्जकले गहिरो दुःख प्रकट गरेका छन् । साहित्यकार केशव आचार्य सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘आदरणीय अग्रज साहित्यकार, मेरा श्रद्धेय साहित्यिक गुरु सरोज ओलीको असामहिक निधनको खबरले स्तब्ध छु ।’

साहित्य चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठले साहित्यकार ओलीको निधनले नेपाली साहित्यमा अपुरणीय क्षति भएको बताए । उनले शनिवारका लागि तय भएको दक्षिणारहित देउसी लगायतका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

यलम्वर साप्ताहिकका सम्पादक झापाका अग्रज पत्रकार दीपिन राई भन्छन्, ‘प्रष्टवक्ता सरोज ओलीको निधनले अर्जुनधारालाई ठूलो क्षति पुगेको छ । कस्लाई भन्ने ? पीडामा ओली परिवारमात्र छैन, हामी सबै छौँ । दुःखको यो क्षणमा भगवान् जलेश्वर बाबाले सहने शक्ति प्रदान गरुन् प्रार्थना छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार ००:००  ५ : ३४ बजे