झापा-नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग गरेको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मगरको राजीनामा माग गरेका हुन् ।
खतिवडाले उपसभामुख मगरले पदको चरम दुरुपयोग गरेकाले राजीनामा दिनुपर्ने तर्क गरेका छन् । उपसभामुख मगरले अमेरिका जान लागेकाहरूका लागि भिसाको डेट चाँडो तोकिदिन अमेरिकी दूतावासलाई पत्राचार गरेकी थिइन् ।
उपसभामुखले लेखेको पत्र सार्वजनिक भएपछि यस विषयमा चौतर्फी आलोचना भइरहेको छ । सोही विषयलाई लिएर कांग्रेस सांसद खतिवडाले संसदमा उपसभामुखको राजीनामा मागेका हुन् ।
सांसद खतिवडाले तत्काल राजीनामा दिएर छानबिनका लागि उपसभामुखले सहयोग गर्नुपर्ने जिकिर पनि गरेका छन् ।














