१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

बीएण्डसी टिचिङ हस्पिटलमा साउन १ गतेदेखि स्वास्थ्य बीमा



बिर्तामोड– झापाको बिर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटलमा साउन १ गतेदेखि स्वास्थ्य बीमा लागू हुने भएको छ । बीमा बोर्डसँग भएको सम्झौता अनुसार बीएण्डसीले बिरामीको सुविधाका लागि स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागेको हो ।

अस्पतालमा रहेको दक्ष जनशक्ति, उपलब्ध अत्याधुनिक उपकरण र तोकिए अनुसारका औषधिको उपलब्धतासहित स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागिएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन यसपटक अस्पताल प्रशासनले १० वटा काउन्टरमार्फत सेवा प्रदान गर्ने तयारी गरेको छ । बीमामार्फत स्वास्थ्य सेवा लिन धेरै समय कुर्नु परेको बिरामीहरूको गुनासोका बीच अस्पतालले सहज सेवाका लागि यस्तो व्यवस्था मिलाएको हो ।

अस्पताल व्यवस्थापनले आइतबार पत्रकार सम्मेलन गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनको तयारी पूरा भएको जनाउँदै बीमार्फत आउने र पेइङबाट आउने बिरामीबीच कुनै भेदभाव नहुने स्पष्ट पारेको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र यादव बीमामार्फत सबै प्रकारका सेवा उपलब्ध रहेको बताउँछन् । डाक्टर यादवले बीमा बोर्डले तोकेअनुसारको सेवा सुविधा हस्पिटलमा उपलब्ध रहेको बताए ।

स्वास्थ्य बीमामार्फत सेवाग्राहीले औषधि, स्वास्थ्य परीक्षण, सर्जरी लगायतमा बीमा सुविधा प्राप्त गर्नेछन् । बीमा मार्फत आउने बिरामीलाई पनि चौबिसै घण्टा इमरजेन्सी सहितको सेवा उपलब्ध रहेको जनसम्पर्क अधिकारी गिरीले बताए ।

पत्रकार सम्मेलनमा मेडिकल कलेजका प्रिन्सिपल डक्टर उमेश शर्मा, हस्पिटलकी कार्यकारी निर्देशक अञ्जली कार्की लगायतको उपस्थिति रहेको थियो ।

सुविधा थैलीको सेवा सुविधा परिमार्जित

सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध गराउने सुविधा थैलीको सेवासुविधा परिमार्जित गरेको छ । परिमार्जित स्वास्थ्य सुविधाको नयाँ थैली साउन १ गतेदेखि लागू हुनेछ ।

नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमा अन्तर्गत १२९० प्रकारका औषधि रहेका छन् । ३ हजार ५०० बराबरको योगदानका आधारमा सरकारले ५ जनासम्मको परिवारका लागि १ लाख रुपैयाँसम्मको स्वास्थ्य सुविधा उपलब्ध गराउने गर्छ ।

बीमा अन्तर्गतका बिरामीले अस्पतालमा टिकट बापत ५० रुपैयाँ तिर्नुपर्छ । शैयाको प्रतिदिन २५० राखिएको छ । यसअघि यो रकम २०० थियो । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम् सेवा सुविधाको सीमा २ लाख रुपैयाँसम्म तोकिएको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार ००:००  ७ : ५० बजे