बिर्तामोड- बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले नगरको बेरुजु घटाउन निर्देशन दिएकी छन् । पाँचौँ अधिवेशनको दोस्रो बैठकलाई सोमवार सम्वोधन गर्दै नगर प्रमुख प्रसाईले यस्तो निर्देशन दिएकी हुन् ।
कतिपयले बेरुजु बढ्नुलाई भ्रष्टाचारका रूपमा लिएको भन्दै नगर प्रमुख प्रसाईले जनस्तरमा रहेको भ्रम चिर्न जरुरी भएको बताइन् ।
‘सरकारको नुनपानी खाएपछि कर्मचारीले पनि गतिलै काम गर्नुपर्छ’, बैठकमा नगर प्रमुख प्रसाईले भनिन्, ‘जस्टीफाई हुने गरी काम गरौँ, बेरुजु निमिट्यान्न पार्दै लानुपर्छ ।’
महालेखा परीक्षकको कार्यालयले जेठ १३ गते सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७९-८० को वेरुजु ४.५४ प्रतिशत छ ।
आर्थिक वर्ष ०७८-७९ को प्रतिवेदन अनुसार यो ७.५८ प्रतिशतले कमी हो । उक्त आर्थिक वर्षमा बिर्तामोडको वेरुजु १२.१२ प्रतिशत थियो ।


















