काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले राजनीतिक व्यवहार र संस्कार देखाउन नसकेको टिप्पणी गरेका छन् ।
आइतबार बसेको केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले तमासा देखाएको भन्दै त्यसलाई राजनीतिक संस्कार मान्न नसकिने बताएका हुन् ।
सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा प्रहरीले शुक्रबार साँझ पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई पक्राउ गरेको थियो ।
संसदीय छानबिन समितिको प्रतिवेदनअनुसार सरकारले कार्यान्वयन प्रक्रिया अघि बढाएको जनाउँदै प्रधानमन्त्री ओलीले लामिछाने दोषी भए नभएको विषयमा अदालतले फैसला गर्ने बताए ।
बैठकपछि एमाले महासचिव शंकर पोखरेलले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सरकारले आवश्यक कारबाही प्रक्रिया अघि बढाउने बताउँदै जो कोही छानबिनको दायरामा आउन सक्ने प्रतिक्रिया दिए ।