ताप्लेजुङ-पूर्वी नेपालको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा शनिबार एकैदिन ६ हजार दर्शनार्थीले पूजाअर्चना गरेका छन् । दशैंको टीकापछि पाथिभरा मन्दिरमा दर्शनार्थीको चहलपहल बढेको हो ।
यसअघि दशैंको समयमा मेची राजमार्ग अवरुद्ध भएकाले पूजा अर्चनाका लागि आउने दर्शनार्थीको सङ्ख्या घटेको थियो । शनिबार एकै दिन ५ हजार ९८३ जना भक्तजन पाथिभरा मन्दिरमा पुगेका हुन् ।
असोज महिनाभरिमा ५ हजार ९४९ जना भक्तजन दर्शनका लागि पाथिभरा आएका थिए । पाथिभरामा विशेष गरी बडादशैं र चैते दशैंको अवसरमा भक्तजनको भीड लाग्ने गरेको छ ।
पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले एकैदिन ठूलो सङ्ख्यामा दर्शनार्थी पाथिभरा आइपुगेको बताए । उनले दर्शनार्थीको सहजताका लागि समितिले आवश्यक तयारी र व्यवस्थापनका काम गरेको जानकारी दिए ।