झापा-नेपालमा व्यापार घाटा बढ्नुको मुख्य कारक पेट्रोलियम पदार्थको आयात हो । जति धेरै पेट्रोलियम पदार्थ आयात हुन्छ, उति नै नेपालको व्यापार घाटा उच्च हुँदै जाने गर्छ ।
नेपालले पेट्रोलियम पदार्थको आयात कम गर्ने हो भने व्यापार घाटा स्वत कम हुँदै जाने विज्ञहरु औल्याउँछन् । नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग छ ।
गत आर्थिक वर्षमा मात्रै ३ खर्ब ३७ अर्ब ३४ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोलियम आयातमा नेपालको सबैभन्दा ठूलो व्यापार घाटा छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष ८०-८१ मा नेपालले १४ खर्ब ४० अर्ब रुपैयाँ व्यापार घाटा बेहोर्नु परेको छ । आयात निर्यात खुम्चिरहँदा रेमिट्यान्सले व्यापार घाटा थेग्ने अवस्था बनेको हो ।
गत आर्थिक वर्षमा १४ खर्ब ५० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । व्यापार घाटाकै दरमा रेमिट्यान्स भित्रिएकाले मुलुकको वित्तीय आर्थिक अवस्थामा सुधारको संकेत देखिएको हो ।


















