झापा-कोशी प्रदेश सरकारले प्रदेश स्वास्थ्य ऐन ल्याउने तयारी सुरु गरेको छ । प्रदेशको स्वास्थ्य नीतिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने गरी सरकारले ऐन ल्याउने तयारी थालेको हो ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश स्वास्थ्य ऐनमार्फत जनस्वास्थ्यसँग सम्बन्धित धेरै विषयलाई सम्बोधन गर्ने बताएका हुन् । उनले सीमित स्रोत साधन र जनशक्तिका आधारमा पनि गुणस्तरीय सेवा प्रवाह भइरहेको बताए ।
प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने गरी डाक्टर महेन्द्र श्रेष्ठको अध्यक्षतामा प्रदेश सरकारले कार्यदल समेत गठन गरिसकेको छ । कार्यदलले दिएको सुझावको आधारमा प्रदेश सरकार अगाडि बढ्ने मुख्यमन्त्री कार्कीले बताए ।