२ असार २०८२, सोमबार | Tue Jun 17 2025

सिराहा जेल प्रकरण : डीएसपीको नेतृत्वमा छानबिन समिति



सिराहा-सिराहा कारागारभित्रको अवैध गतिविधि छानबिन गर्न स्थानीय प्रशासनले छानबिन समिति गठन गरेको छ । आइतबार पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।

कैदीहरूले कारागारभित्रै मदिरा सेवन गर्ने गरेको र लागूऔषधको समेत कारोबार हुने गरेको घटना सार्वजनिक भएको थियो । घटनापछि डीएसपी विष्णुप्रसाद सोतीको नेतृत्वमा छानबिन समिति बनाइएको छ ।

जिल्ला प्रशासन र कारागारका प्रतिनिधिसमेत रहने गरी बनाइएको छानबिन समितिले सोमबारदेखि काम सुरु गर्ने सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए ।

छानबिन समितिलाई १५ दिनको म्याद दिइएको छ । घटनाको वस्तुगत स्थितिसहितको प्रतिवेदन समितिले जिल्ला सुरक्षा समितिलाई बुझाउनेछ ।

प्रतिवेदनका आधारमा कानुनी कारबाही प्रक्रिया अघि बढाउने प्रमुख जिल्ला अधिकारी दाहालले बताए । कैदीबन्दीले मदिरा खाँदै गरेको र मोबाइल चलाउँदै गरेको घटना सार्वजनिक भएपछि छानबिन समिति बनेको हो ।

कारागार व्यवस्थापन विभागले शुक्रबार जिल्ला प्रशासन कार्यालयलाई घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्न र घटनाको प्रतिवेदन पठाउन लिखित निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार ००:००  ८ : ४६ बजे