पर्सा-राजस्व सङ्कलनमा सरकारले कडाई गरेपछि बीरगञ्ज भन्सार नाकाको राजस्व सङ्कलन बढेको छ । चोरी तस्करी नियन्त्रणका लागि प्रभावकारी रुपमा परिचालित हुन र राजस्व सङ्कलनलाई तीव्र बनाउन सरकारले मातहतका भन्सार कार्यालयलाई निर्देशन दिएको थियो ।
अर्थमन्त्री विष्णु पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न सचिवहरुलाई निर्देशन दिँदै आएका छन् । भन्सार नाकामा गरिएको कडाईका कारण चालु आर्थिक वर्षको पाँच महिनामा बीरगञ्ज भन्सार कार्यालयको राजस्व अघिल्लो वर्षको तुलनामा बढेको हो ।
आर्थिक वर्ष ०८१-८२ को पाँच महिनाको अवधिमा ६४ अर्ब ५९ करोड ५१ लाख २५ हजार राजस्व उठेको छ । अघिल्लो वर्षको सोही अवधिमा ६२ अर्ब ३४ कराेड ९५ हजार रुपैयाँ राजस्व उठेको थियो ।
चालु आर्थिक वर्षकाे पाँच महिनामा वार्षिक लक्ष्यको २९.५० प्रतिशत राजस्व सङ्कलन भएको छ । बीरगञ्ज भन्सारले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १२ अर्ब १६ करोड ३२ लाख उठाएको थियो ।
मङ्सिर महिनामा राजस्व सङ्कलनको रकम बढेर १४ अर्ब ४१ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।