२ असार २०८२, सोमबार | Tue Jun 17 2025

बीमा प्राधिकरणद्वारा बिर्तामोडमा पत्रकारसँग अन्तरक्रिया



बिर्तामोड-प्रादेशिक तहमा आफ्नो उपस्थिति जनाए लगत्तै नेपाल बीमा प्राधिकरणले पूर्वी नेपालका जिल्लामा सरोकारवालासँगको छलफललाई तीव्र पारेको छ । प्राधिकरणले झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा सरोकारवालासँग नियमित छलफल गरिरहेको हो ।

प्राधिकरणले बीमा सम्बन्धी विषयमा सम्बन्धित बीमा कम्पनीका कर्मचारी र पत्रकारसँग नियमित छलफल गर्दै आएको छ । बुधबार प्राधिकरणले बिर्तामोडमा झापामा पत्रकारसँग छलफल गरेको छ ।

नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यमा प्राधिकरणले छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले कोरोना सङ्क्रमित पत्रकारले अझै पनि भुक्तानी नपाएको भन्दै यसका लागि पहल गरिदिन प्राधिकरणलाई अनुरोध गरेका छन् ।

कोशी प्रदेश कार्यालय विराटनगरका तर्फबाट आयोजित छलफलमा बोल्दै प्राधिकरणका क्षेत्रीय प्रमुख विनोदकुमार पोखरेलले प्रादेशिक कार्यालय स्थापना भएपछि बीमा सचेतना कार्यक्रम सुरु गरिएको बताए ।

गतवर्ष विराटनगरमा कार्यालय स्थापना भएपछि झन्डै ४५ स्थानीय तहसँग प्राधिकरणले छलफलका कार्यक्रम अगाडि बढाइसकेको प्रादेशिक प्रमुख पोखरेलले जानकारी दिए ।

बीमा कम्पनीको नियमन तथा सुपरिवेक्षणसहित बीमा नीति बनाउन सहयोग गर्दै आएको अर्धन्यायिक निकायका रूपमा प्राधिकरणले काम थालेको सहायक निर्देशक पुष्पा खनालले बताइन् ।

कार्यक्रममा सहभागी पत्रकारहरूले बीमा कम्पनी र अभिकर्ताबीच अस्वस्थ प्रतिस्पर्धा भएकाले नागरिक तहमा अविश्वास बढ्दै गएको तर्क सचेत हुन प्राधिकरणको ध्यानाकर्षण पनि गराएका छन् ।

बीमा प्राधिकरणका सहायक निर्देशक शिवप्रसाद खनालसहित कार्यक्रममा विभिन्न बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार ००:००  ९ : ३८ बजे