२ असार २०८२, सोमबार | Tue Jun 17 2025

पत्रकार रेग्मी र लामालाई ‘डी काैडिन्य स्मृति पत्रकारिता पुरस्कार’



बिर्तामोड-प्रेस सेन्टर झापाले यस वर्षको ‘डी काैडिन्य स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार झुलन रेग्मी र डिकेश लामालाई प्रदान गरेको छ । सोमबार बिर्तामोडमा आयोजित समारोहका बीच रेग्मी र लामा पुरस्कृत भएका हुन् ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता एवम् पूर्वमन्त्री इन्द्र आङ्बोको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच रेग्मी र लामालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकका अनुसार पुरस्कारको राशि ४२ हजार रूपैयाँ छ । उक्त राशि दुबै जनालाई आधा-आधा वितरण गरिएको हाे ।

मेचीखबर साप्ताहिकका सम्पादक रेग्मी र नेपाल टेलिभिजनका झापा संवाददाता लामा डेढ दशकअघिदेखि पत्रकारितामा क्रियाशील छन् ।

अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताका पक्षपाती, सृजनशील क्षमताका धनी, बहुआयामिक व्यक्तित्व पत्रकार देवकुमार आचार्य अर्थात् डी काैडिन्यकाे स्मृतिमा प्रेस सेन्टरले उक्त पुरस्कार स्थापना गरेको थियो ।

जनपक्षीय पत्रकारका रूपमा जनताको अधिकार प्राप्तिको आन्दोलनमा संघर्षरत काैडिन्यको द्वन्दकालमा तत्कालीन शाही नेपाली सेनाले हत्या गरेको थियो । एउटा सशक्त कलमजीवी प्रतिभाको स्मृतिमा स्थापित यो पुरस्कार हरेक वर्ष प्रेस सेन्टरले वितरण गर्दै आएको छ ।

पुरस्कार वितरण समारोहमा फाेनिज झापाकी अध्यक्ष भूमिका सुब्बा, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना राेदन, समाजवादी प्रेस संगठन झापाका अध्यक्ष शम्भु दाहाल, प्रेस चौतारी झापाको उपाध्यक्ष प्रदीप परियार, प्रेस युनियन झापाका नेता राजेन्द्र गाैतम, पूर्व पुरस्कृत व्यक्तित्व एवम् झापाका अग्रज पत्रकार लीला बराल, डी कौडिन्यकी धर्मपत्नी यमुना आचार्य, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेकपा माओवादीका झापा जिल्ला इन्चार्ज सुमन सिंह सी, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतम लगायतले बोलेका थिए ।

प्रेस सेन्टर झापाका उपाध्यक्ष होम प्रकाश अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सेन्टरका केन्द्रीय सचिव बिमल लामिछानेले डी काैडिन्यकाे व्यक्तित्व र राजनीतिक सङ्घर्षबारे प्रकाश पारेका थिए । सेन्टरका झापा सचिव पुष्प खड्काको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार ००:००  ३ : ३९ बजे