१३ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025

साहित्य चौतारीको रजत महोत्सव : कवितामा प्रथम भए दैलेखका सिजापति



बिर्तामोड-साहित्य चौतारी झापाले रजत महोत्सवको अवसरमा राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट कविहरूले भाग लिएका छन् ।

प्रतियोगितामा सहभागीमध्ये दैलेखका दिपिन सिजापति प्रथम भएका छन् । उनलाई राष्ट्रकवि माधव घिमिरे स्मृति साहित्य चौतारी पुरस्कारद्वारा नगद २० हजारसहित पुरस्कृत गरिएको छ ।

डोटीका डिलबहादुर महरा कविता प्रतियोगितामा दोस्रो भएका छन् । उनलाई भीमबहादुर पञ्चकुमारी श्रेष्ठ स्मृति साहित्य चौतारी पुरस्कार प्रदान गरिएको छ। महराले नगद १५ हजार पुरस्कार पाएका छन् ।

पोखरा कास्कीका ऋषिकेशमराल तृतीय भएका छन् । नगद १० हजारसहित बराललाई धनमाया जगन्नाथ बिमली विस्मृति साहित्य चौतारी पुरस्कार प्रदान गरिएको छ ।

उदयपुरको कटारी घर भएका अजय बैरागी राईले सान्त्वना पुरस्कार पाएका छन् । राईलाई मदन दीपविम बस्नेत स्मृति साहित्य चौतारी पुरस्कार प्रदान गरिएको छ । उनले ५००० पाएका छन् ।

कविता प्रतियोगिताको निर्णायकमा कवि हरिनारायण भट्टराई, बिरही अधिकारी र जीवनाथ सुबेदी रहेका थिए । देशभरबाट कविता पठाएका कविहरूमध्ये उत्कृष्ट १० कविलाई छानेर प्रतियोगितामा बोलाइएको थियो ।

साहित्य चौतारीका संस्थापक संरक्षक अध्यक्ष देवीभक्त श्रेष्ठ र कार्यक्रमका प्रमुख अतिथि नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछाली लगायतले उत्कृष्ट कविहरूलाई पुरस्कार प्रदान गरेका हुन् ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार ००:००  ११ : ४५ बजे