११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

किन चल्यो पूर्वाञ्चल र बीएण्डसी हस्पिटल लिलामीको हल्ला



झापा-झापाको बिर्तामोडका दुई ठूला अस्पताल लिलामको हल्ला चलेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईले त्यसको खण्डन गरेका छन् ।

पूर्वाञ्चल क्यान्सर र बीएण्डसी अस्पताल लिलाम हुने हल्ला चलाइएको भन्दै प्रसाईले प्रहरी हिरासतबाटै स्वकीय सचिवमार्फत त्यसको खण्डन गरेका हुन् ।

प्रसाईले अस्पतालको लिलामी क्षम्य नहुने भन्दै आफ्नो सबै सम्पत्ति लिलाम गरेर देखाउन चुनौती दिएका छन् । राष्ट्र बैंकदेखि बैंकसम्मलाई प्रभावमा पारेर यस्तो हल्ला फिजाइएको प्रसाईको आरोप छ ।

मङ्सिर ४ गते पक्राउ परेपछि प्रहरी हिरासतमा रहेका उनले हल्लाको पछि नलाग्न अनुरोध गरेका छन् । यसअघि मङ्गलबार मात्रै ऋण असुलीका लागि बैंकले गरेको ताकेता विरुद्ध दायर गरिएको रिट उच्च अदालत विराटनगरको इलाम इजलासले खारेज गरेको थियो ।

रिट खारेज भएसँगै ऋण असुलीका लागि बैंकलाई बाटो खुलेको समाचार सार्वजनिक भएलगत्तै प्रसाईको यस्तो प्रतिक्रिया आएको हो ।

प्रसाईले ऋण नतिरे धितो लिलामीबाट बैंकले ऋण असुल गर्न सक्ने बाटो खुला भएपछि दुईवटा अस्पताल लिलामीको विषय बाहिर आएको हो ।

प्रसाईले पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि चारवटा बैंकबाट २ अर्बभन्दा बढी ऋण लिएको जनाइएको छ ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार ००:००  ८ : ४८ बजे