६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

तीनवटा पार्टी मिलेर बन्यो नेपाल जनमुक्ति पार्टी : पहिचानको आन्दोलनलाई सशक्त बनाउने घोषणा



बिर्तामोड– राष्ट्रिय जनमुक्ति पार्टी संघीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समिति बीच एकीकरण भएको छ । २०७९ फागुन २७ मा भएको ६ बुँदे सहमति र २०८० मङ्सिर १९ गते भएको ३ बुँदे सहमतिका आधारमा पार्टी एकता घोषणा भएको हो ।

२०८१ वैशाख २९ र ३० गते सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टीको विधान महाधिवेशनले पार्टी एकतालाई अनुमोदन गर्दै निर्वाचन आयोगबाट समेत अध्यावधिक भएकाले पार्टीको नाम संशोधन गरेर नेपाल जनमुक्ति पार्टी राख्ने निर्णय गरेको छ ।

पार्टी एकतापछि नयाँ संगठनात्मक संरचना निर्माण भएको बुधबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । एमएस थापा पार्टीको संरक्षक रहेका छन् । पार्टीमा रामबहादुर तुम्बाहाम्फे संस्थापक सदस्य र डिके बुद्धिस्ट वरिष्ठ नेता छन् ।

केपी पालुङ्वा अध्यक्ष, केशव सूर्यवंशी कार्यकारी अध्यक्ष र बाँकी तत्कालीन राष्ट्रिय जनमुक्ति पार्टीका सबै पदाधिकारी तथा सदस्यको जिम्मेवारी यथावत छ । सन्जुहाङ पालुङवालाई पार्टी नेताको सम्मान दिइएको छ ।

पार्टीमा भक्त खेवाङ उपाध्यक्ष छन् भने लासिम पालुङवा, एलबी पालुङ्वा, राजकुमार नाल्बो, भीम खत्री, दिनेश माबो, साधना फागो, इन्दिरा धौराली, मकल सावाँ, उमा मगर, आशा लिम्बु र सुकमाया लिम्बु केन्द्रीय सदस्य छन् ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पालुङवाले कांग्रेस एमाले सम्मिलित सरकारलाई अप्राकृतिक गठबन्धनको रूपमा टिप्पणी गरेका छन् । सत्ताधारी दलकै नेताहरूको संलग्नतामा भ्रष्टाचार भइरहेको उनको दाबी छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेता सन्जुहाङ पालुङ्वाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली पहिचानमा आधारित स्वायत्तता र स्वशासन सहितको बहुल राष्ट्रिय राज्य निर्माणका लागि संविधान संशोधन र पुनर्लेखन हुनुपर्ने बताए ।

उपाध्यक्ष भक्त खेवाङले सानो पार्टी भनेर आफूहरूका गतिविधिहरुलाई सञ्चारमाध्यम र पत्रकारले स्थान नदिएको, आग्रह पूर्वाग्रह राखेको जनाउँदै त्यसप्रति संवेदनशील हुन सञ्चारकर्मीलाई आग्रह गरे ।

राष्ट्रिय जनमुक्ति पार्टीको किराँत लिम्बुवान खम्बुवान प्रदेश परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलन प्रदेश अध्यक्ष परशुराम मगरको अध्यक्षतामा भएको हो ।

जनमुक्ति पार्टीले १७ महिनादेखि कोशी प्रदेश नाम खारेजीको माग राखेर भइरहेको संयुक्त आन्दोलनमा हुँदै आएको चरम दमन विरुद्ध अझ सशक्त ढंगले लाग्ने घोषणा पनि गरेको सचिव एलवी पालुङ्वाले बताए ।

आन्दोलनलाई अझै सशक्त परिणाममुखी र देशव्यापी विस्तार गर्न आवश्यक देखिएको अध्यक्ष केपी पालुङवाले बताए ।
भदौ पहिलो सातादेखि लिम्बुवान खम्बुवानका १४ जिल्लामा केन्द्रित हुँदै देशव्यापी रुपमा अभियान सञ्चालन गर्ने तयारी जनमुक्ति पार्टीको छ ।

आवश्यक बहुल राष्ट्रिय विद्रोहको तयारी योजना निर्माण गर्न पार्टी मातहतका सबै निकाय र समितिहरूको बाँकी समायोजन सम्पन्न गर्ने सचिव कृष्णकुमार थेबे बताउँछन् ।
अभियान अन्तर्गत पार्टीको बोर्ड परिवर्तन गर्ने भेला भेटघाट प्रशिक्षण र आवश्यक सुझाव संकलन लगायतका कार्यक्रम राखिएका छन् ।

विसं १८३१ को तत्कालीन सरकार र लिम्बुवान बीच भएको नुनपानी सन्धिको आधारमा लिम्बुवान स्वायत राज्य घोषणा माग गर्दै पहिचान पक्षधर राजनीतिक शक्ति र समूहले साउन २२ गतेलाई कालो दिनको रुपमा मनाउँदै आएका छन् ।

साउन २२ गते लिम्बुवानमा हरेक वर्ष बन्दको कार्यक्रम हुँदै आएकोमा यसपटक जनमुक्ति पार्टीले बन्दको विकल्प खोज्ने निर्णय गरेको छ । पार्टीको निर्णयअनुसार तत्कालीन सरकार र लिम्बुवान बीच भएको नुनपानी सन्धिको ऐतिहासिकता महत्त्व र औचित्यका बारेमा एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको अध्यक्ष पालुङ्वाले जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार ००:००  १२ : ३५ बजे