झापा-गण्डकी प्रदेशका सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतले मंगलबार मनाङेलाई दोषी ठहर गरेको हो ।
न्यायाधीश डाक्टर नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले मनाङेलाई दोषी ठहर गरेको छ । सर्वोच्चले यस अघि पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो ।
तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई २०६९ सालमा पाँच वर्ष कैद सजाय सुनाएको थियो । मन्त्री समेत भइसकेका मनाङे दोषी ठहर भएसँगै उनको पद जाने भएको छ ।
कर्तव्य ज्यानसम्बन्धी मुद्दामा २० वर्षभन्दा कम सजाय पाएको व्यक्ति सजाय भुक्तान भएको मितिले ६ वर्षसम्म उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था छ ।
सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङे दुई कार्यकाल गण्डकी प्रदेश सभाको सदस्य भइसकेका छन् । पटक-पटक मन्त्री भएका उनको राजनीतिक यात्रामा तत्काल पूर्णविराम लाग्ने अवस्था सिर्जना भएको छ ।


















