२१ कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025

मेचीनगरको तुर्केनी इलाकाबाट सशस्त्र प्रहरीद्वारा आठ लाख भन्दा बढीको कपडा बरामद



बिर्तामोड-भन्सार छलेर नेपाल भित्र्याइँदै गरेको कपडा सशस्त्र प्रहरीले नेपाल भारत सीमाबाट बरामद गरेको छ । सशस्त्र प्रहरीको २ नम्बर गण हेड क्वाटरले मंगलबार राति मेचीनगर-६ तुर्केनी सीमा इलाकाबाट कपडा बराबर गरेको हो ।

टीनले छाएको कच्ची गोदाममा छापा मारेर कपडा बरामद गरिएको सशस्त्र प्रहरी २ नम्बर हेड क्वाटरका सूचना अधिकारी डीएसपी सुमन पोखरेलले बताए ।

भन्सार छलेर अवैध रूपमा सामान भित्रिरहेको सूचना पाएपछि सशस्त्र प्रहरीले गणबाट प्रहरी निरीक्षक दिवस न्यौपानेको नेतृत्वमा नौ जनाको टोली मेचीनगरको तुर्केनी इलाकामा खटाएको थियो ।

प्रहरी निरीक्षक न्यौपाने नेतृत्वको टोलीले आठ लाख ४६ हजार ८५० बराबरको भन्सार छलीको कपडा बरामद गरेको डीएसपी पोखरेलले जानकारी दिए ।

बरामद गरिएको कपडा आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय पठाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैबीच चालु आर्थिक वर्षमा सशस्त्र प्रहरीले २ करोड ४३ लाख ६६ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको डीएसपी पोखरेलले जानकारी दिए ।

चोरी निकासी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीको टोलीलाई सीमावर्ती नाका र इलाकाहरूमा प्रभावकारी रुपमा परिचालन गरिएको दुई नम्बर गणले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार ००:००  १२ : ०२ बजे