२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

बुट्टाबारीको मोटरसाइकल वर्कशपमा आगलागी हुँदा १५ लाखको क्षति



बिर्तामोड-झापाको बुट्टाबारीमा सञ्चालित दीपक मोटरसाइकल वर्कशपमा आइतबार साँझ आगो लागेको छ । विद्युत् सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको हो ।

बिर्तामोड प्रहरीका डीएसपी प्रकाश बिष्टले बिर्तामोड, भद्रपुर र मेचीनगरको बारुण यन्त्रको सहायतामा तत्काल आगलागी नियन्त्रणमा लिएको बताए । अर्जुनधारा ११ का दीपक राजबंशीले उक्त वर्कशप सञ्चालन गर्दै आएका थिए ।

प्रहरीका अनुसार आगलागीबाट मर्मतका लागि राखिएको एक थान स्कुटर, एक थान सुपर स्पेन्डर मोटरसाइकल, मर्मतमा प्रयोग हुने विभिन्न औजारहरू, एक थान एयर कम्प्रेसर लगायतका सामान जलेर नष्ट भएका छन् ।

आगलागीबाट १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको डीएसपी बिष्टले जानकारी दिए ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार ००:००  ९ : ४३ बजे