अर्जुनधारा- भद्रपुर नगरपालिका चौथो खुदुनाबारी गोल्डकप अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा जारी प्रतियोगिताको मंगलवार भएको दोस्रो खेलमा आयोजकलाई ६–२ गोल अन्तरले पराजित गर्दै भद्रपुर विजयी भएको हो ।
भद्रपुरका लागि प्रदीप बुढाथोकीले चार गोल गरेका छन् । उनले पहिलो हाफको ३० औं मिनेटमा पहिलो गोल गरेका थिए । ३५ औं मिनेटमा दोस्रो गोल गरेका बुढाथोकीले दोस्रो हाफको १४ मिनेटमा टीमका लागि पाँचौ र व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे ।
पहिलो हाफको ३८ औं मिनेटमा भद्रपुरका लागि उदेस कामतीले तेस्रो गोल गरेका थिए । दोस्रो हाफको १२ औं मिनेटमा विपक्षीको पोष्टमा गोल प्रहार गर्दै जाली चुमाएका रोहित सुब्बाले भद्रपुरका लागि चौंथो गोल गरे । विजेता टीमका लागि बुढाथोकीले दोस्रो हाफको २० औं मिनेटमा छैैंटौ गोल गरेका थिए ।
खेल सुरु भएको ४ मिनेटमा पहिलो गोल गर्दै भद्रपुर विरुद्ध लिएको अग्रता जोगाउन नसक्दा आयोजकले फराकिलो हार व्यहोर्नु परेको छ ।
आयोजकका लागि पहिलो हाफको चौथो मिनेटमा कप्तान राजेश दहालले हेडमार्फत गोल गरेका थिए । त्यसपछि दोस्रो हाफको १० औं मिनेटमा बिशाल माझीले टीमका लागि दोस्रो गोल गरे । भद्रपुरको लगातारको प्रहार खेपेर कमजोर बनेको आयोजकले थप गोलस्कोर बढाउन सकेन ।
भद्रपुरका लागि चार गोल गरेका बुढाथोकी खेलको ‘म्यान आफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफी पुरस्कार पाएका छन् । उनलाई भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, प्याब्सन अर्जुनधाराका उपाध्यक्ष बालगोपाल गौतम र प्रतियोगिताका संयोजक सीताराम भट्टराई लगायतले पुरस्कार प्रदान गरेका थिए ।

“हाम्रो शान, हाम्रो अभियान, खुदुनाबारी गोल्डकप हाम्रो पहिचान” भन्ने नारासहित सुरु भएको गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त आयोजना गरेको हो ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार २ सय ११ र उपविजेताले ५५ हजार ६ सय ५५ रुपैयाँ नगदसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
गोल्डकपमा भोली बुधबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुनेछ । पहिलो क्वाटर फइनलमा कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाबिच खेल हुने आयोजक समितिका सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।
प्रतियोगितामा झापाको अर्जुनधारा, बिर्तामोड, भद्रपुर, मेचीनगर, कनकाई, शिवपसताक्षी, गौरादह, दमक नगरपालिका र इलामको माई नगरपालिकाको एक टिमसहित आयोजकको एक टिम गरेर १० टिमको सहभागिता रहेको प्रतियोगिताका खेल संयोजक धनबहादुर तामाङले जानकारी दिए ।
हरेक टिमले ३ जना नगरपालिकाभन्दा बाहिरका खेलाडीलाई समेत खेलाउन पाउने प्रावधान रहेकाले गोल्डकपमा विभिन्न क्लब र राष्ट्रिय टोेलीका खेलाडीहरु समेत मैदान उत्रीएका छन् ।