२ असार २०८२, सोमबार | Tue Jun 17 2025

पाथिभरामा केबुलकार बनाउन खोजिए आन्दोलन गर्ने चेतावनी



ताप्लेजुङ-ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरासम्म केवुलकार निर्माण गर्ने व्यावसायिक परियोजनाविरुद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिइएको छ ।

संगठित भएका विभिन्न जातिय समूहले पाथिभरामा केवुलकार बनाउन नदिने आफ्नो पूर्ववत निर्णय सार्वजनिक गर्दै त्यसविरुद्ध प्रतिरोधमा उत्रिने चेतावनी दिएका हुन् ।

पाथिभरामा केवलकार बनाउने निर्णय सार्वजनिक भए लगत्तै सङ्घर्ष समिति गठन भएका थिए । तिनै सङ्घर्ष समितिले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्नो पूर्ववत अडान दोहोर्‍याउँदै केबुलकार बनाउन नदिने बताएका हुन् ।

याक्थुङ लिम्बू समुदायको मुन्धुमी स्थलको अतिक्रमण गरी केबुलकार निर्माण गर्न लागिएकाले त्यसविरुद्ध निषेधको रणनीति लिनुपर्ने अवस्था आएको संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बुले बताए ।

मुक्कुमलुङ संयुक्त संघर्ष समितिका संयोजक श्री लिखिम मुन्धुमीस्थलमा निजी कम्पनीलाई केबुलकार निर्माण गर्न दिएर जातीय सद्भाव बिथोल्न खोजिएको बताउँछन् ।

पाथिभरामा केबुलकार निर्माण गर्ने योजना खारेज नभएसम्म आफूहरू नियमित संघर्षमा रहने लिखिमको चेतावनी छ । उनले मुन्धुमी स्थलको संरक्षण गर्नु सबैको दायित्व भएको समेत औँल्याएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार ००:००  ६ : १४ बजे