मोरङ-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको विकल्प खोज्ने बेला नभएको बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
नेता कोइरालाले मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार बनेको पनि बताए । उनले तोकिएको कार्यभार पूरा गर्न सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मित्रराष्ट्र चीनको भ्रमण सफल हुने विश्वास व्यक्त गर्दै कांग्रेस नेता कोइरालाले भ्रमणबाट मुलुकलाई फाइदा पुग्ने विचार व्यक्त गरे ।
नेता कोइरालाले पर्याप्त तयारी बिना संविधान संशोधन गर्न नहुने बताउँदै विभिन्न दलहरूसँग छलफल गरी निष्कर्षमा पुग्नुपर्छ भन्ने पक्षमा आफू सधैँ दृढ रहेको धारणा व्यक्त गरेका छन् ।


















