शिवसताक्षी– अखिल नेपाल महिला संघ (अनेमसंघ) झापाले महिला कार्यकर्तालाई सामाजिक सुरक्षा, संगठन निर्माण र सदस्यता विस्तारबारे प्रशिक्षण दिएको छ ।
शिवसताक्षी नगरपालिका-८ स्थित वाटर किङ्गडम पार्कमा आइतबार आयोजित प्रशिक्षणमा जिल्लाका विभिन्न स्थानबाट आएका ६५ जना महिला कार्यकर्ता सहभागी थिए ।
प्रशिक्षणमा राज्यले नागरिकलाई उपलब्ध गराउँदै आएका सामाजिक सुरक्षा कार्यक्रम, लक्षित वर्गले पाउने सुविधा, सामाजिक सुरक्षा भत्ताको महत्व तथा प्रभावकारी कार्यान्वयनका विषयमा प्रशिक्षण दिइएको थियो ।
ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति र बालबालिकालगायत लक्षित समुदायले पाउने सुविधाबारे समेत सहभागीलाई जानकारी गराइएको थियो ।
अनेमसंघले संगठनलाई स्थानीय तहसम्म विस्तार गर्ने रणनीतिमाथि पनि कार्यकर्तालाई प्रशिक्षण दिएको छ । संगठनको आवश्यकता, उद्देश्य, संरचना र कार्यशैलीसँगै नेतृत्व विकास, सामूहिक निर्णय, अनुशासन र जिम्मेवारीका विषय प्रशिक्षणमा समेटिएका थिए ।
टोल तथा वडा तहमा संगठन विस्तार, महिलाको सक्रिय सहभागिता बढाउने तथा नियमित बैठक र गतिविधिलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको आयोजकले जनाएको छ ।
सदस्यता विस्तारअन्तर्गत नयाँ सदस्यलाई संगठनमा आबद्ध गराउने, सदस्यता नवीकरण, सदस्यको अभिलेख व्यवस्थित गर्ने र आबद्ध सदस्यलाई संगठनका गतिविधिमा सक्रिय बनाउने विषयमा प्रशिक्षण दिइएको थियो ।
सामाजिक सुरक्षा विषयमा अनेमसंघ कोशी प्रदेश कमिटी सचिव अधिवक्ता हेमकला कट्टेल, संगठन निर्माणमा केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले र सदस्यता विस्तारमा कोशी प्रदेश अध्यक्ष सृजना राईले सहजीकरण गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओली, केन्द्रीय अनुसन्धान आयोग सदस्य लीला कट्टेल कार्की, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सचिव निशा लिम्बु र एमाले कोशी प्रदेश सदस्य चन्द्रकुमार शेर्माले शुभकामना मन्तव्य राखेका थिए ।
उद्घाटन सत्रमा एमाले कोशी प्रदेश कमिटीका प्रदेश सदस्य राधाकृष्ण खनाललगायत अनेमसंघ कोशी प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो ।
अनेमसंघ जिल्ला कमिटी सचिव कोपिला चम्लागाईंले सञ्चालन गरेको कार्यक्रमले महिला कार्यकर्तालाई सामाजिक सुरक्षा र संगठन सञ्चालनबारे व्यवहारिक जानकारी दिनुका साथै स्थानीय तहसम्म संगठन विस्तारमा सहयोग पुग्ने आयोजकको दाबी छ ।


















