झापा- लमजुङबाट प्रतिनिधि सभा सांसद बनेका नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङ सूचना तथा सञ्चार प्रविधिमन्त्री बनेका छन् ।
गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री बनिसकेका गुरुङले २०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पराजित गरेका थिए ।
वि सं २०३४ सालदेखि राजनीतिमा सक्रिय गुरुङ पार्टीभित्र खरो र प्रष्ट बोल्ने नेताका रूपमा चिनिन्छन् । उनलाई ओलीले सरकारका प्रवक्तासमेत बनाउने गरी सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
विज्ञान विषयमा स्नातक गरेका गुरुङ सुरुमा शिक्षण पेशामा आबद्ध थिए । गुरुङ २०२७ सालमा ईशानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटारमा अनेरास्ववियूको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियन सचिव बनेका थिए ।
२०३७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएका गुरुङ वि सं २०४० सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष निर्वाचित भए । उनी पञ्चायतकालमै पटकपटक प्रहरी हिरासतमा परेका थिए ।
वि सं २०५१ र २०५६ सालको आमनिर्वाचन लमजुङमा उनी हारेका थिए । पहिलोपटक उनी लमजुङ क्षेत्र नम्बर २ बाट वि सं २०६४ सालमा संविधानसभा निर्वाचनमा विजयी भएका थिए ।
यसअघि गुरुङ नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका थिए ।
आदिवासी जनजाति महासंघको नेतृत्वसमेत लिएका गुरुङ लमजुङमा कम्युनिस्ट राजनीतिलाई बलियो बनाउन भूमिका खेलेका नेतामध्ये प्रमुख मानिन्छन् ।
दृष्टिकोण र व्यवहारले गुरुङ बौद्धिक र पाका नेताका रूपमा चिनिन्छन् । प्रदेशको अधिकारका विषयमा लड्ने बलियो नेताका रूपमा अहिले पनि पार्टीभित्र उनको चर्चा हुने गर्छ ।


















