१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

भद्रपुरमा नगर प्रमुखको संयोजकत्वमा रोजगार संवाद मञ्च



भद्रपुर-भद्रपुर नगरपालिकामा रोजगार संवाद मञ्च गठन भएको छ । नगर प्रमुख गणेश पोखरेलको संयोजकत्वमा मञ्च गठन भएको हो ।

मञ्चको सदस्यमा उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, आर्थिक विकास समिति संयोजक प्रशंसा ठटाल, सामाजिक विकास समिति संयोजक सीतादेवी गुरागाईं छन् ।

निजी क्षेत्रबाट व्यवसायी टीकाराज ढकाल, आदित्य पराजुली, दुर्गाप्रसाद खतिवडा, सुष्मा शाक्य सदस्य चयन भएका छन् । सहकारी र सञ्चार क्षेत्रबाट जीवन बाँस्तोला र प्रेस क्लब भद्रपुरका उपाध्यक्ष रोहित काफ्ले सदस्य छन् ।

नगरभित्र रोजगारीका क्षेत्रमा रहेको अवसर, सम्भावनाको पहिचान, समस्याको निदान र नविनतम उपायका विषयमा आवश्यक नीति बनाउने गरी रोजगार संवाद मञ्च गठन भएको रोजगार सेवा केन्द्रका संयोजक टीकाराम पाण्डेले बताए ।

मञ्चले उद्योग प्रतिष्ठान, संस्थागत शैक्षिक क्षेत्र, सहकारी, सेवा क्षेत्र लगायतका रोजगारदाताबीच समन्वय गरी विवरण सङ्कलन अध्यावधिक र सूचना सञ्जाल निर्माण गर्ने लगायतका काम गर्नेछ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार ००:००  ९ : ४७ बजे