बिर्तामोड-नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले दोस्रो कार्यकालका लागि नगर पार्टीको कमाण्ड सम्हालेका छन् ।
मंगलबार पद तथा गोपनीयताको सपथसँगै अध्यक्ष भट्टराईले दोस्रोपटक नगर पार्टीको नेतृत्व सम्हालेका हुन् ।
पहिलो कार्यकालमा नगर पार्टीलाई चलायमान र प्रभावकारी बनाउँदै स्थानीय तहमा एमालेको नेतृत्व स्थापित गर्न सफल भएका भट्टराई दोस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
नगर पार्टीका तत्कालीन सचिव शेखर कँडेलसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका भट्टराईले शपथ ग्रहणपछि बोल्दै आन्तरिक प्रतिस्पर्धा स्वभाविक भएकाले अब सम्पूर्ण शक्ति मिसन ८४ मा केन्द्रित गर्नुपर्ने बताए ।
पार्टी पंक्तिलाई एक ढिक्का बनाउने, एमालेको संगठनात्मक संरचनामा थप सुधार गर्ने र जनस्तरका सवाललाई प्राथमिकतामा राख्ने दृढताका साथ आफूले पार्टीको नेतृत्व सम्हालेको अध्यक्ष भट्टराईले बताए ।
निर्वाचन समितिका संयोजक राजेन्द्र भट्टराईले नवनिर्वाचित अध्यक्ष भट्टराईसहित नगर कमिटीका पदाधिकारी र सदस्यलाई सपथ गराएका हुन् ।
सपथ ग्रहण कार्यक्रममा पार्टी केन्द्रीय सदस्य गीता अधिकारी, जिल्ला अध्यक्ष प्रेम गिरी, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, पूर्व सांसद पवित्रा निरौला खरेल र हरिचरण शिवाकोटी, अध्यक्षका अर्का प्रत्यासी शेखर कँडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।