९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

शिक्षक र विद्यार्थीलाई राजनीतिक गतिविधिमा प्रतिबन्ध



खोटाङ-खोटाङको साकेला गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र विद्यार्थीलाई राजनीतिक दल र तिनका भातृ संगठनमा आबद्ध हुन प्रतिबन्ध लगाएको छ ।

राजनीतिमा लागेपछि विद्यालय शिक्षाको गुणस्तर खस्केको जनाउँदै गाउँपालिकाले शिक्षक र विद्यार्थीलाई प्रत्यक्ष राजनीतिक गतिविधिमा संलग्न हुन रोक लगाएको हो ।

गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूको गुनासोका आधारमा शिक्षक र विद्यार्थीलाई राजनीतिक गतिविधिमा संलग्न हुन रोक लगाइएको बताए ।

गाउँपालिकाले राजनीतिभन्दा पठनपाठन नै बालबालिकाको आवश्यकताको विषय हुने भएकाले सोही अनुसार सहयोग गर्न आमअभिभावकलाई सार्वजनिक रुपमा अपिल पनि गरेको छ ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले राजनीतिक गर्न, दलको सदस्यता लिन र राजनीति गतिविधिमा संलग्न हुन नपाउने कानुनी व्यवस्था छ ।

गाउँपालिकामा एउटा क्याम्पस ६ वटा माध्यमिक विद्यालय र २२ वटा आधारभूत विद्यालय छन् । ती विद्यालयमा करिब २०० शिक्षक कार्यरत रहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार ००:००  १० : ११ बजे