काठमाडौँ-सभामुख देवराज घिमिरेले संसदीय समितिमा विचाराधीन रहेका विधेयकलाई आगामी संसद अधिवेशनमा पेश गर्न सरोकारवालालाई निर्देशन दिएका छन् ।
संसदीय समितिका सभापति र दलका प्रमुख सचेतक तथा सचेतकसँगको बैठकमा सभामुख घिमिरेले विचाराधीन रहेका विधेयकलाई संसदमा पेश गर्ने वातावरण मिलाउन निर्देशन दिएका हुन् ।
सभामुख घिमिरेले आगामी संसद अधिवेशनलाई बिजनेसविहीन हुन नदिन मङ्गलबार संसदीय समितिका सभापति र प्रमुख दलका सचेतकलाई बोलाएर छलफल गरेका थिए ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले कुन समितिमा कति विधेयक छन् र त्यसलाई पास गर्न कति समय लाग्छ भनेर सभामुखले चासो देखाएको बताए ।
सभापति खानका अनुसार संसद अधिवेशन अन्त्य भएसँगै समितिहरूको बैठक बस्न सकेको छैन । अधिवेशन अन्त्य भएसँगै धेरै सांसद जिल्ला जिल्लामा छन् ।