१३ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025

झापाको बुट्टाबारीमा टायरको हट रिसोलिङ सेवा सुरु



बिर्तामोड-शिवशक्ति टायर रिसोलिङ उद्योगले झापाको बिर्तामोड ६ बुट्टाबारीमा आधुनिक प्रविधिबाट टायरको हट रिसोलिङ सेवा सुरु गरेको छ । विश्वकर्मा पूजाको अवसर पारेर उद्योगले मङ्गलबारदेखि सेवा सुरु गरेको हो ।

उद्योगका सञ्चालक गौरी भण्डारीले भारतको केरलाबाट मिडास कम्पनीको रबर नेपालमै पहिलोपटक भित्र्याएर हट रिसोलिङ सेवा सुरु गरेको बताए ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपाने र नेपाल अलैची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले संयुक्त रूपमा रिसोलिङ सेवाको शुभारम्भ गरेका छन् ।

‘रिसोलिङ गरेको टायर नयाँ जतिकै बलियो र टिकाउ हुन्छ’, सञ्चालक भण्डारीले भने, ‘यसबाट व्यवसायीलाई आर्थिक भारसमेत कम पर्न जान्छ ।’

यसअघि शिवशक्तिले कोल्ड रबर रिसोलिङ सेवा दिँदै आएको थियो । १६ वर्षदेखि बिर्तामोडमा सेवा प्रदान गर्दै आएको सञ्चालक भण्डारी बताउँछन् ।

नयाँ टायर खरिद गर्नुभन्दा मिडास कम्पनीको रबर मेसिनद्वारा रिसोलिङ गर्दा धेरै सस्तो पर्न जाने भण्डारीले बताए । ‘नयाँ खरिदको तुलनामा झण्डै ५०% खर्च कम हुन्छ’, सञ्चालक भण्डारीले भने, ‘ग्यारेन्टीका साथ टायर रिसोलिङ गर्छौं।’

शिवशक्तिले ट्याक्टर, जेसीबी, ग्रेडर, लोडरको टायरको हट रिसोलिङ सेवा सुरु भइसकेको जनाएको छ । शिवशक्तिले कोल्ड रबरबाट ट्याक्सी, बस, ट्रक, ट्रिपर, ट्याङ्कर लगायतको रिसोलिङ सेवा यसअघि नै दिँदै आएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार ००:००  ९ : ०६ बजे