बिर्तामोड-नेकपा एमाले झापाले विपद् व्यवस्थापन कार्यमा जुट्न जुट्न नेता कार्यकर्तालाई सार्वजनिक रुपमा अपिल गरेको छ । अविरल वर्षाका कारण धनजनको क्षति भएकोप्रति चिन्ता व्यक्त गर्दै एमाले झापाले उद्धार र राहतका कार्यमा सक्रिय हुन नेता कार्यकर्तालाई अनुरोध गरेको हो ।
नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले धैर्यताका साथ यस्तो संवेदनशील घडीमा मिलिजुली विपतको सामना गर्नुपर्ने बताए । अध्यक्ष गिरीले पार्टी कमिटी र जनसंगठनका सबै बैठक, भेला र कार्यक्रम स्थगित गरी विपत् व्यवस्थापन कार्यमा जुट्न नेता कार्यकर्तालाई अनुरोध पनि गरेका छन् ।
विपद् व्यवस्थापनका लागि अपिल जारी गर्दै अध्यक्ष गिरीले उद्धार कार्यमा खटिएका सरकारी सुरक्षा संयन्त्रसहित विभिन्न स्वयंसेवकलाई सहयोग पुर्याउनुपर्ने बताए । वर्षाका कारण झापाका विभिन्न ठाउँमा क्षति पुगेको छ ।
खोलाले बगाएर तीनजना नागरिक बेपत्ता भएका छन् । विभिन्न स्थानमा बाटो र पुल भत्किएका कारण आवागमन अवरुद्ध छ । केही उद्योगहरूमा क्षति पुग्नुका साथै व्यापार व्यवसाय पनि अस्तव्यस्त भएको अध्यक्ष गिरीले जनाएका छन् ।
कृषकको अन्नबालीमा क्षति पुग्नुका साथै पशु चौपाया समेत मरेका छन् । यसप्रति चिन्ता व्यक्त गर्दै एमाले अध्यक्ष गिरीले आआफ्नो ठाउँबाट उद्धार र सुरक्षाको कार्यमा लाग्न सबै झापालीमा अपिल गरेका हुन् ।