१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

राजस्व सङ्कलनमा वीरगञ्ज भन्सारको असफलता : सरकारले घटायो २७ अर्ब राजस्व लक्ष्य



वीरगञ्ज-भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयको राजस्व लक्ष्य घटाइदिएको छ । विभागले झन्डै २७ अर्ब राजस्व लक्ष्य घटाइदिएको हो ।

लगातार राजस्व सङ्कलनको लक्ष्य असफल भएपछि लक्ष्यमा पुनर्विचार गर्नुपरेको भन्सार विभागले जनाएको छ । विभागले वीरगञ्ज भन्सार कार्यालयलाई राजस्व संकलनको महत्वकांक्षी लक्ष्य निर्धारण गर्दै आएको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वीरगञ्ज भन्सारको राजस्व लक्ष्य २६ अर्ब ९२ करोड ८६ लाख ७२ हजार रुपैयाँले घटाइएको छ ।

राजस्व सङ्कलनको लक्ष्य र सङ्कलन बीच ठूलो अन्तर देखिएकाले चालु आर्थिक वर्षमा सङ्कलन लक्ष्य घटाइएको भन्सार अधिकारीहरू बताउँछन् ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्ण पूर्व निर्धारित लक्ष्य हासिल गर्न नसकेकाले चालु आर्थिक वर्षमा लक्ष्य घटाइएको हुन सक्ने अनुमान गर्छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुबोध कुमार गुप्ताले महत्वकांक्षी लक्ष्य दिने परिपाटीले अपेक्षा अनुसार राजस्व संकलन हुन नसक्ने बताए ।

सरकारले आयात निर्यातको अवस्थालाई ध्यानमा राखेर राजस्व लक्ष्य भेट्न सक्ने गरी नीति बनाउनुपर्नेमा गुप्ताको जोड छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार ००:००  ७ : ५७ बजे