१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

बिर्तामोड १ वडा कार्यालयद्वारा टोल विकास संस्थाका पदाधिकारीसँग अन्तरक्रिया



बिर्तामोड– बिर्तामोड नगरपालिका वडा नम्बर १ ले टाेल विकास संस्थाका पदाधिकारीसँग अन्तरक्रिया गरेको छ । संस्था सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा वडा कार्यालयले आइतबार अध्यक्ष र सचिवसँग अन्तरक्रिया गरेको हो ।

अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले टोलको विकास र सुरक्षाका लागि टोल विकास संस्थाहरु आफैँ अग्रसर हुनुपर्ने बताइन् । टोललाई व्यवस्थित बनाउनुका साथै सुरक्षित राख्न सबैको उत्तिकै सहयोग हुनुपर्ने नगर प्रमुख प्रसाईको धारणा छ ।

कतिपय टोलमा अपराधका घटना बढ्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै नगर प्रमुख प्रसाईले टोल सुरक्षामा गम्भीर हुने बेला आएको बताइन् । कार्यक्रममा बोल्दै वडाध्यक्ष अग्निप्रसाद पाण्डेले टोल संस्थाहरूलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्न सहयोग पुग्ने गरी कार्यक्रम आयोजना गरिएको बताए ।

कतिपय टोल संस्थाहरु निष्क्रिय रहेको प्रति अध्यक्ष पाण्डेले असन्तुष्टि व्यक्त गरेका छन् । टोल संस्थाको काम, कर्तव्य र अधिकार, टोलमार्फत सम्पर्क हुने विकास आयोजना र सामाजिक रूपान्तरणमा टोल विकास संस्थाको भूमिका लगायतका विषयमा कार्यक्रममा छलफल गरिएको छ ।

वडा सचिव टीका अधिकारीले सञ्चालन गरेको कार्यक्रममा कार्यपालिका सदस्य यमुना आचार्यले स्वागत गरेकी थिइन् । कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारीलाई आवश्यक स्टेसनरी प्रदान गरिएको छ ।

वडामा सुरु भयो थेरापी सेवा

बिर्तामोड नगरपालिकाको एक नम्बर वडाले थेरापी सेवा सुरु गरेको छ । सेवाको नगर प्रमुख पवित्रा महतारा प्रसाईले आइतबार उद्घाटन गरेकी छन् ।

वडा कार्यालयमा आयोजित कार्यक्रमका बीच नगर प्रमुख प्रसाईले सेवा उद्घाटन गरेकी हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले जनस्वास्थ्यलाई ध्यानमा राखेर थेरापी सेवा सुरु गरिएको बताइन् ।

वडाको आफ्नै लगानी र व्यवस्थापनमा थेरापी सेवा सुरु गरिएको वडाध्यक्ष अग्निप्रसाद पाण्डेले बताए । थेरापी सेवाका लागि आवश्यक सामग्रीको व्यवस्थापनमा नगरले समेत सहयोग गर्ने उनले जानकारी दिए ।

जिल्ला आयुर्वेद कार्यालयका प्रमुख अनिलकुमार यादव अघिल्लो वर्षदेखि सेवा सुरु गर्ने योजना भएपनि त्यसले बल्ल सार्थकता पाएको बताउँछन् । थेरापीसँगै ३३ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइने यादवले बताए ।

सामान्यतया थेरापी सेवा उपभोग गर्ने बिरामीले दैनिक १००० देखि १५०० सम्म तिर्नुपर्ने बाध्यता छ । त्यसलाई ध्यानमा राखेर सस्तो र सर्वसुलभ ढङ्गले वडा कार्यालयले सेवा उपलब्ध गराउन थालेको वडा सचिव टीका अधिकारीले बताइन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार ००:००  ७ : ४६ बजे