३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

झापामा तीनवटा ट्रकमा आगजनी : ट्रक चालक घाइते



बिर्तामोड-मेडिकल व्यवसायी दुर्गा प्रसाईका समर्थकले झापाका विभिन्न ठाउँमा आइतबार राति तीनवटा ट्रकमा आगजनी गरेका छन् ।

प्रसाईका समर्थकले तीनवटा भारतीय मालवाहक ट्रकमा आगो लगाएको झापा प्रहरीले जनाएको छ । झापाको बिरिङ पुलमा युपी ५७ एटी ४४९३ नम्बरको मालवाहक गाडीमा आगो लगाइएको हो ।

बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ । गिरिबन्धु टी स्टेट नजिक पनि डब्लुबी ७३ ई ३७५७ नम्बरको ट्रकमा आगजनी भएको छ ।

छवटा मोटरसाइकलमा आएका १२ जनाको समूहले ट्रकमा आगजनी गरेका हुन् । उक्त घटनामा ट्रकचालक घाइते भएका छन् । आगोले शरीरको केही भाग पोलेको छ ।

प्रहरीका अनुसार सोमबार बिहान झापाको धाइजनमा डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी भएको छ । मेडिकल व्यवसायी प्रसाईलाई आइतबार अपरान्ह भक्तपुरबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार ००:००  ८ : ३७ बजे