बिर्तामोड-नेपाली कांग्रेसको १०० दिने अभियान अन्तर्गत झापा क्षेत्र नम्बर २ स्तरीय भेला बिर्तामोडमा बिहीबार सम्पन्न भएको छ । सय दिने कार्यक्रमको पूर्व तयारीका लागि भेला आयोजना गरिएको हो ।
भेलामा प्रदेश क र ख को कार्यसमिति, महासमिति सदस्य महाधिवेशन प्रतिनिधि जिल्ला समितिका पदाधिकारी, पार्टीबाट निर्वाचित जनप्रतिनिधि, भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
भेलामा कोशी प्रदेश सदस्य रेजिना भट्टराई शोभा नेमाङ र काङ्ग्रेस झापाका सचिव कृष्ण हुमागाईले मंसिर २२ गते विराटनगरमा हुने कोशी प्रदेशस्तरीय भेला एवम् सम्मेलनका विषयमा प्रकाश पारेका छन् ।
सचिव हुमागाईका अनुसार १०० दिने अभियान अन्तर्गत टोलदेखि गाउँ नगर एवम् क्षेत्रीय भेला हुनेछन् । संगठन सुदृढीकरणका लागि कचनकवल सगरमाथा जागरण अभियान पनि सञ्चालन गर्ने तयारी छ ।
झापा २ नम्बर क्षेत्र सभापति खगेन्द्र मैनालीको अध्यक्षतामा भेला आयोजना गरिएको हो । अभियान अन्तर्गत तहगत संरचनाको नियमित कार्यक्रम सञ्चालनका लागि वार्षिक क्यालेण्डर पनि निर्माण गरिनेछ ।
वडा तहदेखि तथ्याङ्क अभिलेखीकरण गर्दै पार्टीका अग्रज नेता एवम् प्रजातन्त्र सेनानीसँग भेटघाट र अन्तरक्रिया कार्यक्रम राखिएको छ । अभियान अन्तर्गत झापामा मङ्सिर ११ गतेदेखि २२ गतेसम्म टोल र वडा समितिको भेला राखिएको छ ।
मङ्सिर २४ गते बिर्तामोडमा भातृ तथा शुभेच्छुक संघ संस्थाको जिल्लास्तरीय संयुक्त भेला आयोजना गरिएको छ । मङ्सिर २६ देखि पुष ३ गतेसम्म गाउँनगर भेला सञ्चालन हुनेछ ।
पुस ६ गतेदेखि १० गतेसम्म पाँचवटै क्षेत्रको क्षेत्रीय भेला तय गरिएको छ । पुस १६ गते अभियानको समापन तथा कोशी प्रदेशस्तरीय कचनकवल सगरमाथा जागरण अभियान प्रारम्भ गर्ने कार्यक्रम छ ।